Logo

समाचार

धरानबाट चोरिएको बस विराटनगरमा पाटपुर्जाविहीन अवस्थामा फेला



विराटनगर । धरान उपमहानगरपालिका–८ स्थित एक ग्यारेजबाट चोरी भएको बस मोरङको विराटनगरमा पाटपुर्जाविहीन अवस्थामा फेला परेको छ। प्रहरीले मंगलबार विराटनगर महानगरपालिका–१२ स्थित मंगलबारेमा बस भेटाएको हो।

प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको उक्त बस शुक्रबार राति चोरी भएको थियो। बसका विभिन्न पाटपुर्जा विराटनगर–६ मा रहेको गीतादेवी साहको कबाडी गोदाममा फेला परेको प्रहरीले जनाएको छ।

बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ। सीसीटीभी फुटेजअनुसार बस चोरीपछि पूर्व–पश्चिम राजमार्ग हुँदै खोर्सानेसम्म पुगेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बस कसले चोरेर ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयवासीले बेवारिसे अवस्थामा बस देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ५१ बजे