अटोवा । क्यानडाको आम चुनावमा लिबरल पार्टीले स्पष्ट बहुमतसहित जित हासिल गरेको छ। पार्टीका नेता मार्क कार्नी अब औपचारिक रूपमा देशका नयाँ प्रधानमन्त्री बन्नेछन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि कार्नीले अमेरिकासँगको परम्परागत सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्।
विजयपछि समर्थकहरूलाई सम्बोधन गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कडा आलोचना गर्दै भने, “राष्ट्रपति ट्रम्पले हामीलाई टुक्र्याउने प्रयास गरिरहेका छन्, तर त्यो कहिल्यै सफल हुने छैन।” उनले स्पष्ट रूपमा भने, “अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ।”
हालैका महिनाहरूमा ट्रम्पले क्यानडालाई व्यापार युद्धको चेतावनी दिएका थिए र देशलाई अमेरिकाको ५१ औं राज्य बनाउने अभिव्यक्ति दिएका थिए। कार्नीले ट्रम्पको यस्तो व्यवहारलाई “विश्वासघात” को रूपमा चित्रित गर्दै भने, “हामीले त्यो आघात पार गरिसकेका छौं।”
यसबीच, न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) ले चुनावमा निराशाजनक प्रदर्शन गरेको छ। पार्टीले केवल आठ सिटसम्म सीमित हुने अनुमान गरिएको छ, जुन संघीय संसदमा मान्यता प्राप्त दल बन्न आवश्यक १२ सिटको न्यूनतम सीमा भन्दा कम हो। पराजयपछि एनडीपी नेता जगमीत सिंहले पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले भने, “यो न्यु डेमोक्र्याटहरूका लागि निराशाको रात हो।”
मार्क कार्नी, बैंक अफ इङ्गल्याण्डका पूर्व गभर्नर, सन् २००८ को वित्तीय संकटको बेलामा बैंक अफ क्यानडाको नेतृत्व गरिसकेका छन्। पहिलो पटक चुनाव लडेका कार्नीले गत मार्चमा लिबरल पार्टीको नेतृत्व सम्हालेका थिए र अहिले चुनावी विजयसँगै प्रधानमन्त्रीको पदमा प्रवेश गर्दैछन्।
कार्नीले हार्वर्ड विश्वविद्यालयबाट स्नातक तथा अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले आन्तरिक प्रतिस्पर्धा र राष्ट्रिय आर्थिक सुदृढीकरणका विषयमा अनुसन्धान गरेका थिए। न्यूयोर्क, लन्डन र टोकियोजस्ता शहरहरूमा काम गरिसकेका उनी अन्तर्राष्ट्रिय आर्थिक मामिलामा समेत अनुभवी मानिन्छन्।
प्रतिक्रिया