काठमाँडौ । शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ । जसको परिणामस्वरूप कुनैपनि देश र समाजमा परिवर्तन आउन सक्छ । राजनीतिमा पनि अमूल्य र गतिशील परिवर्तन आउनसक्छ । शिक्षाले व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति सञ्चालन हुने गर्छ ।
त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ । शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन् तर शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता पर्दछ । बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिदैन ।
राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।
राजनीति त्यो हो जुन देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनु पर्छ । राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो । तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरुमा बढ्दै गइरहेको छ । राजनीति गर्नेहरुले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ । आजभोलि राजनीति भन्ने वित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेको छ । अहिलेको अवस्था हेर्ने हो भने गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालयनै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ । यो सरासर गलत हो । सरकारी र नीजि छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालियो । सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सृजना गर्ने शिक्षित वर्ग नै देखिएको छ ।
पछिल्लो समय शिक्षक शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्नेे जस्ता अपराधिक घटनाहरू भइरहेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतिको पराकाष्ठ समेत बनेको छ । देशको प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा आजको आवश्यकता हो ।
समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । नेपालको सन्दर्भमा राजनीति भनेको हड्ताल, नारावाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने पाइन्छ । राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरेको पाइन्छ यो गलत हो । राजनीति भनेको त आफैँमा एक विज्ञान हो । हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्यौ भने यसको महत्व बुझ्नेछौँ । साच्चै भन्ने हो भने राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ ।
जबदेखि राणाशासन काल थियो त्यतिबेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो । विभिन्न कालखण्डदेखि अहिलेसम्मको शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । बिस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ । पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो । राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो । तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन् ।
अब विकास गर्नका लागि राजनीतिक मुल्य मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ । साथै मानिसहरूलाई राजनीतिको नकरात्मक पक्ष मात्र होइन सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ । विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने आजको समस्या हो । शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र नियमित आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे सोच्नु जरुरी छ । जहाँबाट शिक्षामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न आवश्यक छ । शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अहम् योगदान रहन्छ । शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अति आवश्यक छ । सबैको कार्य दक्षताको मूल्याड्ढन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा प्रतिस्पर्धा गर्नु पर्छ । अब शिक्षाको नाममा आतङ्क फैलाएर शिक्षामा ह्रास आउने गतिविधिको अन्त्य जरुरी छ । परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरूरी देखिन्छ । संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रविन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया