Logo

Breaking News 1

‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’



काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएकी छन् ।

आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै  गएको वस्तु  निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।

उनले भनिन्, ‘अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ ।  आयात तथा निर्यात व्यापारमा सुधार भएको छ । बैकिङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ । पछिल्लो समय भएका कानुनी सुधारहरुले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।   नेपालको बाह्य क्षेत्र सफल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै  गएको वस्तु  निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन्, राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।’

साथै उनले  पछिल्लो  समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरु देखा परिरहेको बताइन् । उनले लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताइन् ।

उनले  भनिन्, ‘पछिल्लो  समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरु देखा परेका छन् । खासगरी विगत लामो समयदेखी युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको  परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको छ ।’

साथै उनले नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको बताइन् ।

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताए । उनले अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्चको लागि भन्दा छुट्याएको बजेट भन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं, अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौं ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५५ बजे