Logo

समाचार

वर्ल्डलिंकद्वारा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी ब्रान्ड एम्बेसडर घोषणा



काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका छ जना खेलाडीलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ।

कम्पनीले १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट जडान पुर्‍याएको उपलब्धिका अवसरमा सो घोषणा गरेको हो। नयाँ ब्रान्ड एम्बेसडरहरूमा कप्तान रोहित कुमार पौडेलसहित सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी छन्।

सम्बन्धित सम्झौता २५ अप्रिलमा वर्ल्डलिंकको प्रधान कार्यालय जावलाखेलमा सम्पन्न भएको थियो। सम्झौतामा सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।

कम्पनीका अनुसार एउटै कम्पनीले एकै पटक ६ जना खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउनु नेपालको पहिलो उदाहरण हो। वर्ल्डलिंकले यस कदमलाई राष्ट्रिय गौरव, खेलकुदप्रतिको समर्थन र समुदायप्रतिको प्रतिबद्धता संकेतको रूपमा उल्लेख गरेको छ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अग्रवालले भने, “यी खेलाडीहरू प्रतिबद्धता, धैर्य र राष्ट्रिय भावना बोकेको प्रतिनिधित्व गर्छन्। हामी उनीहरूसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छौँ।”

मुख्य कार्यकारी अधिकृत नेपालले वर्ल्डलिंकले खेलकुदलाई सदैव प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा ‘बीट द स्पीड’ अभियानको दोस्रो सिजन सुरु हुने जानकारी दिएका छन्।

छ जना खेलाडीहरूले वर्ल्डलिंकको विश्वासप्रति आभार व्यक्त गर्दै कम्पनीसँगको सहकार्यबाट नेपाली क्रिकेट र डिजिटल पहुँच दुवै क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ५२ बजे