काठमाडौं । बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शसस्त्र प्रहरी बल ( एपीएफ ) विजयी भएको छ ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९. ४ ओभरमा २ विकेट गुमाएर भेटायो ।
लक्ष्य पछ्याउने क्रममा एपीएफका ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए । अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए जुन क्रममा १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । बागमतीको बलिङ्मा अशिम श्रेष्ठले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको बागमती प्रदेशले १९. ३ ओभरमा ८० रनमा सबै विकेट गुमायो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए भने बिबेक राना मगरले १३ तथा उत्तम थापा मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफको बलिंगमा दायाँ हाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ५ ओभरमा १ मेडन गर्दै ३५ रन खर्चिए । देब्रे हाते स्पिनर अभिशेस गौतमले ३ विकेट लिए जुन क्रममे ३. ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन मात्र खर्चिए । भोजराज भट्टले २ तथा दिवान पुनले १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसंग २ विकेटले पराजित भएको थियो ।
समुह ‘ए’ अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ । आर्मी विजयी भए समुह विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ । यदी बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तिन टिम मध्ये उत्कृस्ट हुने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतिक्रिया