Logo

मुख्य समाचार

विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह



काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदको नाममा आएको उपहार नेताहरुले आफ्नो घरमा लानु मानसिक भ्रष्टाचार भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो पद सार्वजनिक हो कि व्यक्तिगत हो ? यदि सार्वजनिक पद हो त कुनै देशको डिप्लोम्याट आउँदाखेरी जुन उपहार दिन्छ, त्यो प्रधानमन्त्रीजी, परराष्ट्रमन्त्रीजीको निजी हुन्छ कि, देशको सम्पत्ति हुन्छ ? उहाँहरु विदेश जाँदा राज्यको ढुकुटी, जनताको करबाट उपहार दिने । विदेशीले उहार दिँदा उहाँको घर–घरमा । जम्मै पूर्व प्रधानमन्त्रीको घरमा प्रधानमन्त्रीको रुपमा दिइएको उपहार भेटिन्छ । यो एउटा मानसिक भ्रष्टाचार हो । त्यसो भए विदेश जाँदा आफ्नो निजी सम्पत्तिबाट उपहार दिउँ ।’

साथै उनले छिमेकी मुलुक भारतमा पनि यसरी आउने उपहार राख्ने संग्राहलय रहेको बताउँदै उनले नेपालमा पनि तत्काल व्यवस्था गरिनुपर्ने धारणा राखे ।

उनले भने , ‘राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको पदको रुपमा पाएको उहार राज्यको हुन्छ । त्यसको लागि संग्राहलय बनाऔं । भारतमा पनि छ, प्रधानमन्त्रीलाई दिने सबै उपहारको प्रधानमन्त्री संग्राहलय छ । यो मानसिक भ्रष्टाचार हो, यसको अन्त्य गर्नुपर्यो ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४६ बजे