काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चालकहरूलाई लक्षित गर्दै मोबाइल लुटपाटमा संलग्न तीन जना पक्राउ परेका छन्। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार २०८२ साल वैशाख ५ गते राति ३:४५ बजे काठमाडौं महानगरपालिका–३ बसुन्धारामा मोटरसाइकलमा आएका दुई जनाले चितवन निवासी प्रेम तामाङको ट्याक्सी (बा.२ज. ३४५८) रोकी ‘ठमेलमा सामान लिन जाने’ बहानामा मोबाइल लिएर फरार भएका थिए। उक्त घटनाबारे प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा लुटपाटमा संलग्न शिखरजङ्ग थापा भनिने नवराज सुनुवारसहित तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूमा सिन्धुली सुनकोशी गाउँपालिका–१ का १८ वर्षीय शिखरजङ्ग थापा भनिने नवराज सुनुवार, धनुषा तारापट्टी सिर्सिया गाउँपालिका–६ का १८ वर्षीय राज निष्ट यादव, रौतहट गरुडा नगरपालिका–२ का २७ वर्षीय सुरेश ठाकुर हजाम रहेका छन्। उनीहरू हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको बा.प्र. ०२–०४६ प ४८५२ नम्बरको मोटरसाइकलसहित OPPO, SAMSUNG र VIVO ब्रान्डका मोबाइलहरू समेत बरामद गरेको जनाएको छ।
अनुसन्धानको क्रममा उनीहरूले यसअघि पनि विभिन्न स्थानमा मोबाइल लुटपाट गरेको खुल्न आएको छ।
- २०७८ साल चैत १७ गते धुम्बाराही पिपलबोटबाट ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल लुटपाट,
- चैत १९ गते सोही स्थानबाट ट्याक्सी चालक राजकुमार तामाङको मोबाइल लुटपाट,
- सोही दिन साँझ साप्रेढुङ्गाबाट ट्याक्सी चालक राजेशबहादुर बिसीको मोबाइल लुटपाट,
- चैत २३ गते ओम अस्पताल नजिकै दुर्गा शाक्यको मोबाइल लुटपाटमा उनीहरू संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया