काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षामा अरूको नाममा परीक्षा दिइरहेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा प्रकाशित विज्ञापनअनुसार सञ्चालन भइरहेको लिखित परीक्षा काठमाडौं महानगरपालिका–१०, नयाँबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भइरहेको थियो। सोही परीक्षा केन्द्रबाट उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूले अर्काको नाम, फोटो र कागजात प्रयोग गरी परीक्षा दिइरहेका बेला फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरिएको छ।
पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका–९ निवासी २३ वर्षीय मोहन सुनुवार, कालिकोट शुभकालिका गाउँपालिका–७ निवासी २४ वर्षीय गोपाल शाही, सुर्खेत बीरेन्द्रनगर नगरपालिका–५ निवासी २२ वर्षीय मनोज शर्मा, दैलेख भैरवी गाउँपालिका–५ निवासी २२ वर्षीय आकाश खड्का, सुर्खेत बीरेन्द्रनगर नगरपालिका–११ निवासी २० वर्षीय उमेश शर्मा र जुम्ला तिला गाउँपालिका–२ निवासी २२ वर्षीय मिन रावल रहेका छन्। ती सबै हाल काठमाडौंका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका थिए।
पक्राउ पर्ने व्यक्तिहरूसँग अर्काको नाममा बनाइएका सक्कल प्रवेश पत्रहरू, फोटो टाँस गरिएका कागजातहरू र नागरिकताको प्रतिलिपिहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने परीक्षामा ठगी र नक्कली परिचयमार्फत सहभागी हुने प्रयासलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। यस घटनाले सरकारी सेवामा हुने परीक्षामा निष्पक्षता र पारदर्शिताको सवालमा थप सतर्कता अपनाउनु पर्ने देखिएको छ।

प्रतिक्रिया