Logo

राजनीति

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पु¥याउने बताएका हुन् ।

उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ । हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ ।’

प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइसकेको दाबी गरे । उनले चितवनलाई भौगोलिक दृष्टिले केन्द्रमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र विकासको हिसाबले चितवनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ५४ बजे