Logo

समाचार

सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा



काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ ।

नेताहरु पक्राउपछि बसेको आकस्मिक बैठकले सरकारकोे रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, ‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ । यसको सर्वत्र विरोध गरिनुपर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ । संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।’

साथै राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।

चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानवीन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा.धवल शमसेर राणा लगायत सबै, नेता, कार्यकर्ताहरुको रिहाइको राप्रपाले माग गरेको छ ।

आज अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि आज पक्राउ परेको उनले बताए । उनीहरुको पनि तत्काल रिहा गर्न बैठकले माग गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ४० बजे