नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) लाई आफ्नो आम्दानीको केही अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
युएईमा नेपाली जनसम्पर्क समितिद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गरे। उनले हालैको कानुनी सुधारले लगानीको वातावरण सुदृढ बनाउँदै लगेको बताए।
“नेपाल सरकारले दुई दर्जनभन्दा बढी कानुन संशोधन गरेर लगानीमैत्री वातावरण निर्माणको प्रयास गरेको छ,” ढकालले भने, “यो पहल विशेष गरी निजी क्षेत्र, विशेष गरी महासंघको अग्रसरतामा भएको हो।”
ढकालले गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपालको जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनका अनुसार, हालै स्थापना गरिएको १० अर्ब रुपैयाँ पूँजीसहितको नेपाल डेभलपमेन्ट कम्पनी ले नेपाली पूँजीमार्फत ठूला पूर्वाधार परियोजनामा लगानी गर्नेछ।
“यदि हामीले छरिएर रहेको सानोसानो पूँजी संकलन गरी ७५–८० प्रतिशत ऋणसमेत परिचालन गर्न सकेमा ४० अर्बभन्दा बढी लगानी सम्भव छ,” उनले भने।
उनले नेपालमै लगानी, उत्पादन, रोजगारी र राजस्व वृद्धिमा योगदान दिन सके नेपालले अपेक्षा गरेजस्तै विकास हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायतले समेत सम्बोधन गरेका थिए।
प्रतिक्रिया