काठमाडौं । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिवार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएका छन् । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाईं, उपाध्यक्षहरूमा सुर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राज कुमार गिरि चयन भएका छन । यसैगरी कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा उद्दव श्रेष्ठ, फनिन्द्र पन्त, लक्ष्मण सापकोटा, राम शेन, बरुण सिंह ,लाल बहादुर कौशल, वासुदेव भुसाल, रेशम बहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्ण हरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमर दीप कार्की, दीपक भुसाल, विनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकि, वेद प्रसाद अधिकारी चयन भएका छन् । यसैगरी सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् ।
शनिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नवगठित कार्यसमितिका अध्यक्ष अरुण अधिकारीलगाएत सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । पर्यटनमन्त्री पाण्डेले बिश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दुतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरे । उनले सेफहरुको सम्मेलन सफल भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका पुर्व केन्द्रिय संयोजक तथा वर्तमान अध्यक्ष अरुण अधिकारीले कार्यक्रममा बोल्दै यस फेस्टिबलले परिकारहरूको मात्र प्रदर्शनी नगरी नेपालको मौलिक स्वाद, रैथाने सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्य लिएको बताए ।
अधिकारीले भने ‘नेपाली खानाको स्वाद, विविधता र परम्परा आफैमा अनुपम छन् । यिनलाई विश्वमञ्चमा पु¥याउने दायित्व हामी सेफहरूको काँधमा रहेको छ । आधुनिक प्रविधिको उपयोग, गुणस्तरीय सेवा र पेशागत उत्कृष्टताको माध्यमबाट हामीले नेपाली खानालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थापित गर्नुपर्ने आवश्यकता छ ।’
उनले थप भने, ‘यस अभियानको मूल मर्म भनेकै नेपालको खानालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु, आधुनिक प्रविधिसँग सामन्जस्यता राख्दै व्यावसायिक रूपमै यसको विस्तार गर्नु, र नेपालको आर्थिक, सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्टसँग प्रस्तुत गर्नु हो।’
अधिकारीले यस अभियानमा ३६ भन्दा बढी देशहरूमा कार्यरत नेपाली सेफहरूको सक्रिय सहभागिता अत्यन्तै सराहनीय रहेको बताए । अधिकारीका अनुसार एशिया, युरोप, अमेरिका, अफ्रिका र अष्ट्रेलियामा कार्यरत नेपाली सेफहरूको योगदानले यस फेस्टिभललाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको बताए ।
कार्यक्रमको पहिलो सेसनमा नेपाल सरकार, पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाको प्रमुख आथिथ्यता रहेको थियो । सापकोटाले ३३ भन्दा बढी देशबाट नेपाल आएर सेफहरुले गरेको ऐतिहासिक कार्यक्रमको खुलेर प्रसंशा गरे । कार्यक्रममा विशिष्ट अतिथि पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली सेफहरुको नवीनतम आयामको खुलेर स्वागत गर्दै हरेक नेपालीले सकारात्मक सोच राखेर काम गर्न सके देशले छिट्टै कोल्टे फेर्ने बताए । शाक्यले नेपालको मौलिक खानालाई विश्वमा परिचित गराउन हरेक सेफहरुले आ – आफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्ने बताए ।
प्रतिक्रिया