Logo

खेलकुद

केपी ओली कप टी–२० क्रिकेट : सिइसी काठमाडौं र गण्डकी हिरोज फाइनलमा



पोखरा । सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा विहीबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो । ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो । ओपनर सुवोध ऐरी १३ रनमा आउट भए ।

उनले ८ बलमा २ चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । आसिषले ३ बलमा २ छक्का प्रहार गरे । अभिनाष सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे । दिपक रोकाया ४ रनमा आउट भए । काठमाडौंका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ ओभरमा १ विकेट रिटार्यड आउट हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए । उनले १७ बलमा ३ चौका प्रहार गरे । अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दिपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे ।

दोस्रो सेमीफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।

अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसंगै क्रिज पुगेका दोस्रो ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका थिए । विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउट भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे ।

निश्चल क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन विक शुन्यमा नटआउट रहे । गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिंदै ३ विकेट लिए । नारायण जोशीले १ विकेट लिएका थिए । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौंले उपाधिका लागि भोलि भिड्नेछन् ।  

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ४३ बजे