Logo

कर्णाली प्रदेश

अदानचुलीमा अविरल वर्षाले घर र पूर्वाधारमा ठूलो क्षति



हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२ र ३ मा बिहीबार बिहान परेको अविरल वर्षाका कारण घर, पसल, सडक र सरकारी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ।

स्थानीय समय अनुसार बिहान ६ बजेबाट लगातार परेको वर्षाका कारण बजार क्षेत्रका अधिकांश घर तथा पालिकाको कार्यालयमा पानी पसेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए। “पालिका कार्यालय र अधिकांश घरहरूमा पानी पस्दा कागजात तथा सामानमा क्षति पुगेको छ,” उनले भने।

वर्षाका कारण खासगरी अदानचुली–२ र ३ नम्बर वडामा क्षति पुगेको छ। बाढीका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही गोठ र पसल बगाएका छन्।

अदानचुली–३, छहराखेतस्थित धर्म बुढाको बाख्रागोठ बाढीले भत्किँदा गोठभित्र रहेका ८१ मध्ये ५२ बाख्रा मरेका छन् भने २९ बाख्रा जीवितै उद्धार गरिएको सिंहका सचिवालय सदस्य जीवन बुढाले जानकारी दिए।

अध्यक्ष सिंहका अनुसार मानवीय क्षति भने भएको छैन। “भौतिक सम्पत्तिमा भने ठूलो क्षति पुगेको छ, तर मानवीय क्षति छैन,” उनले भने।

गाउँपालिकाको कृषि र पशु शाखामा समेत पानी पसेर कागजातहरू नष्ट भएका छन्। अदानचुली–२ मा एउटा घर पूर्णरूपमा भत्किएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, एसपी शंकर पोखरेलका अनुसार अदानचुली घटना क्षेत्र सदरमुकाम सिमकोटबाट करिब ११ घण्टाको पैदल दूरीमा रहेको छ। उद्धार तथा राहत कार्यका लागि जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको गाउँपालिकाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ३ : २९ बजे