Logo

खेलकुद

पञ्चकन्या क्रसकन्ट्री दौडमा किरण र रुबिना विजयी



नुवाकोट । दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौडको पञ्चकन्या पालिकास्तरीय ५ किमितर्फ किरण तामाङ र रुविना तामाङ विजयी भएका छन् ।

पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा नुवाकोटको पञ्चकन्या गाउँपालिकामा शनिबार भएको प्रतियोगितामा ५ किमि पुरुषतर्फ किरणले २२ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी उपाधि जिते । मनहरि थापा २२ मिनेट ४९ सेकेन्डबाट दोस्रा तथा दिपेश तामाङ २२ मिनेट ५१ सेकेन्डबाट तेस्रा भए ।

सोही दुरीमा महिलातर्फ रुबिनाले २८ मिनेटमा दौड जितिन् । सुप्रिता थापा २९ मिनेट २१ सेकेन्डबाट दोस्रा र विपना तामाङ ३१ मिनेट ४६ सेकेन्डबाट तेस्रा भए । दुवैतर्फ ५ किमिमा विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुष खुला १० किमिमा प्रकाश तामाङ विजयी भए । उनले ४१ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । जयराम थापा ४४ मिनेट ०४ सेकेन्डबाट दोस्रा र हरिचन्द्र तामाङ ४५ मिनेट १९ सेकेन्डबाट तेस्रा भए । यस इभेन्टका विजेता प्रकाशविरुद्ध भने उजुरी परेको छ । प्रकाशले अर्कै नाममा खेलेको भनी अन्य खेलाडीले विरोध जनाएपछि उनी पुरस्कार नलिई हिँडेकाले छानबिन गरिने आयोजक युवा समाजले जनाएको छ ।

महिला १० किमिमा भने सावित्री थापा विजयी भएकी छन् । उनले १ घन्टा ५ सेकेन्डमा दौड पूरा गरिन् । मेलिना पौडेल १ घन्टा १० मिनेटबाट दोस्रो र सुशीला तामाङ १ घन्टा १३ मिनेटमा तेस्रो भइन् । १० किमिका दुवैतर्फका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाए ।

विजेता खेलाडीलाई प्रमुख अतिथि सांसद तथा पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी पाठक, पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामबाबु पराजुलीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभञ्ज्याङबाट सुरु भएको दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिएको थियो । दौडमा पाँच दर्जनभन्दा बढीको सहभागिता थियो ।

पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिएको समाजका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगितालाई पञ्चकन्या गाउँपालिकासहित विभिन्न देशका रहेका व्यक्तिहरूले सहयोग गरेका थिए । कार्यक्रममा चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । महिला ११ किमि दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्ड र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि थिए ।

पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङले उपाधि जितेका थिए ।
२०६६ मा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ३७ बजे