Logo

समाचार

अलपत्र विधेयकहरू चाँडै पारित हुन्छन् : मन्त्री गुप्ता



‘कुशले बनेका राजा बोकेर हिँड्न सुहाउँदैन’

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार कुमार गुप्ताले अलपत्र रहेका महत्वपूर्ण विधेयकहरू अब चाँडै पारित हुने बताउनुभएको छ ।

पर्साको वीरगञ्जमा सोमबार भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्साको १४औँ अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले करिब एक दशकदेखि अलपत्र पर्दै आएका सङ्घीय निजामती सेवा र शिक्षा विधेयक अब चाँडै पारित हुने बताउनुभएको हो ।

वर्षौँदेखि अलपत्र रहेका ती विधेयकका करिब एक हजार ८०० उप–दफाहरूमा दफावार छलफल भइसकेको जानकारी दिनुहुँदै उहाँले आगामी संसद अधिवेशनबाट सङ्घीय निजामती सेवा, शिक्षा र नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक पारित गरिने बताउनुभयो । यी तीनवटै विधेयक संसदबाट बहुमतले पारित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले विभिन्न प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेकाले नेपाली जनताले त्यस्ता तत्वहरूलाई तह लगाउने चेतावनी दिनु भयो । उहाँले भन्नुभयो, ‘देशमा अहिले गलत कुराको प्रचार भइरहेको छ । जो राजाले आफ्नो परिवार बचाउन सकेनन् उनले देश कसरी बचाउने ? त्यसकारण राजाबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन ।’ अहिलेको अवस्थामा गणतन्त्रको विकल्प नरेहेको धारणा उहाँले व्यक्त गर्नुभएको छ ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउनुहुँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्रविरोधी भएको आरोपसमेत लगाउनुभयो । राजदरबार हत्या काण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा शाहवंशीय सत्ता विधिवत् रूपमा समाप्त भएको तर्क गर्नुहुँदै मन्त्री गुप्ताले भन्नुभयो, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : ०१ बजे