रौतहट । रौतहटको ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
ट्राफिक प्रहरीको उपस्थिती पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डमा मात्र छ ।
जसका कारण ग्रामीण भेगका सडकमा सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको आरोप छ । कटहरिया, गुजरा, समनपुर, बिजयपुर , जंगलसहिया, दुधिअवा लगायतका बजार क्षेत्रमा सवारी साधन चाप भएपनि ट्राफिक प्रहरीको उपस्थिति नै नरहेको उनको भनाइ छ ।
यस क्षेत्रमा विना हेलमेट, कागजपत्र नवोकेका र सवारी चालक अनुमतिपत्र नभएकाले मोटरसाईकल चलाउने गरेको उनले बताए ।
उनका अनुसार ग्रामिण भेगमा प्राय ः उमेर नै नपुगेका युवा हेल्मेट बिना तीव्र गतिमा मोटरसाइकल चलाउने , ट्याक्टर चालकले ओभरलोड गरेर जथाभावी चलाउने गरेकाले पनि दुर्घटना जोखिम बढेको छ ।
यस क्षेत्रमा अधिक मात्रमा भारतीय नम्वर प्लेटका सवारी बढी गुड्ने गरेको उनको भनाई छ । भन्सार राजश्व नतरी भित्रिएका भारतीय सवारीले नै बढी दुर्घटनामा पर्ने गरेको उनको बुझाइ छ । बजार, विद्यालय तथा भीडभाड स्थान लगायतमा सवारी गति कम गर्नुपर्नेमा, त्यो नगरेको पाईएको उनले बताए ।
जनशक्ति अभाव रहेकाले ग्रमिण भेगमा पुग्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यद्यपी बेला बेलामा ग्रामीण भेगका सडकमा पनि सवारी चेकजाँच गर्ने गरेको ट्राफिक प्रहरीले दाबी गरेको छ ।
प्रतिक्रिया