Logo

समाचार

चैत २५ देखि पौवाका सबै शाखामा ‘स्वादउत्सव’



काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ ।

यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ ।

नवौं वार्षिकोत्सवको खुशियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।

उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई  बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि हो ।

‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो ।’, कार्यक्रमबारे जानकारी दिँदै ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेटगरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।

पौवा पाहुनाहरूले दिएको विश्वास र समर्थनलाई आधार मानेर पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित हुने अभियानमा छ । पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् ।

लुम्बिनीबाट सुरु भएको पौवा हाल १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापनाको तयारीमा छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : १४ बजे