सुर्खेत । काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको संयोजनमा कर्णालीका १० वटै शाखाले प्रमूख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश समितिले कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कार्यस्थलमा खटिरहेका पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार हत्याको न्यायिक छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, सञ्चारगृहमा आगजनी, ढुंगामुढा र हुल हुज्जत गर्नेलाई पक्राउ गर्न तथा कार्यस्थलमा पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न महासंघले माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका व्यवस्थाले प्रसय नपाउँने बताए । पत्रकार महासंघ कर्णाली प्रदेश समितिको ध्यानाकर्षण पत्र बुझ्दै कँडेलले जनताले अस्वीकृत गरिसकेको परिवारवादले पुनः मौका नपाउने दावी गरे ।
‘लोकतान्त्रिक व्यवस्थामा नेतृत्वमा रहेकाहरुको विरोध गर्न पाइन्छ । उनीहरुको विकल्प खोज्न पाइन्छ । त्यसैका लागि हाम्रो संविधानले पाँच वर्षमा आवधिक चुनाव हुने परिकल्पना गरेको छ,’ उनले भने, ‘तर, व्यक्ति विशेष, ठाउँ विशेष र घटना विशेषका कमजोरी देखाएर व्यवस्थाको विरोध गर्न पाइदैन ।’
जात र व्यक्ति विशेष आन्दोलनको कुनै अर्थ नभएको उनले बताए । नेपालको राजनीतिक परिवर्तनको क्रममा भएका आन्दोलनमा सिङ्गो पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण भएको उल्लेख गर्दै कँडेलले तिनकुनेको घटना पुनः दोहरिन नुहुने बताए । आम पत्रकारहरुको पेशागत हकहित, सुरक्षा र स्वतन्त्र प्रेसको सुनिश्चिततामा प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री कँडेलको दावी थियो ।
प्रतिक्रिया