Logo

मधेश प्रदेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका छन् ।

सोमबार मुख्यमन्त्री सिंहले जनकपुरधाम १४ स्थित मणि मण्डपको पछाडि रहेको गुठीको जग्गामा निर्माण हुन लागेको प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री सिंहले भवन निर्माण कार्य सम्पन्न भएपछि शैक्षिक क्रियाकलाप गर्न प्रतिष्ठानलाई सहज हुने बताए ।

उनले निर्माण हुन लागेको उक्त भवनका लागि अढाई करोडको टेण्डर निकालिएको र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले समय अगावै काम सम्पन्न भए ठेक्केदारलाई इन्सेन्टिभ दिने र समयमा काम गर्न नसके पेनाल्टी लगाउने रणनीति लिएर काम गर्न निर्देशन दिएको बताए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले १८ बिघा गुठीको जग्गामा एकेडमिक भवनसंगै, कक्षा कोठा, प्रयोगशाला, अस्पतालको भवन निर्माण हुने जानकारी दिए । उनले यो भवनको निर्माणसंगै प्रतिष्ठानको शैक्षिक गतिविधि बढ्ने नै छ यसका साथै स्वास्थ्य सेवामा समेत आमूल परिवर्तन आउने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ३३ बजे