Logo

मुख्य समाचार

गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने काम प्रमुख प्रतिपक्षीले गरिरहेको बताएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन् ।

उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह् खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने ? ।’

साथै उनले मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनको जिकिर छ ।

उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानूनबमोजिम कारवाही गर्नुपर्ने, पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ०८ बजे