काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन् ।
आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ । यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ ।’
साथै उनले प्रतिपक्षहरुका कारण संसद बैठकमा अवरोध आइरहेको बताए । उनले चैत १५ गतेको दिन काठमाडौंमा भएको घटनाबारे देशलाई जानकारी दिन संसद मार्फत गृहमन्त्रीले जानकारी दिन पाउनुपर्ने बताए ।
‘प्रतिपक्षले बोल्न पाउनुपर्छ । तर प्रतिपक्षले बोल्ने कुराहरुमा पनि उठाएका आवाजहरुमा दम हुनुपर्यो । आधार हुनुपर्यो । चैत १५ गतेको दिन देशमा यत्रो घटना भएको छ, सो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनुपर्छ की पर्दैन् गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनिसक्नुभयो १८ गते संसदमा आउँछु भनेर । तर प्रधानमन्त्रीले आउँछु भन्दाभन्दै हाउस रोक्नु उचित होइन । १५ गतेको घटनाबारे गम्भिरतापूर्वक छलफल गरौं । संविधानमाथि आक्रमण भएको छ । संविधानलाई उल्ट्याउने कोशिस भएको छ । सरकार चुकेको छैन । शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रुप लिए ।’
प्रतिक्रिया