काठमाडौं । नेपालमा रहेका मुख्य आधार र चिजहरुका बारेमा म यतिबेला बोलिरहेको छु । संभावनाहरुका बारे सबैलाई सुनाइरहेको छु । नेपालसँग तीनवटा चिजहरु छन् । नेपालसँग पहिलो त वेद र बुद्ध छ । नेपालमा वेद जन्मियो, बुद्ध दर्शन जन्मियो । वेदको योग र बुद्धको ध्यान अहिले विश्वको हरेक कुनामा प्रचारित छ । यसबारे सबै जानकार छन् । विश्वको १८४ वटा राष्ट्रमा वेद र बुद्धको अभ्यास, योग र ध्यान गर्ने गरिन्छ । यसलाई ब्राण्डिङ गर्नुपर्नेछ । नेपाल विश्वको वेद र बुद्धको केन्द्र हो भनेर बौद्धमार्गीहरुलाई तान्ने अभ्यास गरियो भने मुलुक विश्वको आध्यात्मिक केन्द्रको रुपमा स्थापित हुने निश्चित छ ।
दोस्रो कारण नेपाल भनेको आर्ष पद्धतिको भूमि हो । आर्ष पद्धति भनेको ऋषिमुनीहरुको पद्धति हो । आर्ष भनेको संस्कार र आविष्कारयुक्त पद्धति हो । जस्तै हामी पिपलमा पानी चढाउँछौं । त्यो हाम्रो संस्कार हो । पिपलले हामीलाई नभइ नहुने हावा दिन्छ । त्यसबाट निस्कने अक्सिजन चाँही आविष्कार हो । संस्कार र आविष्कार कहाँबाट सुरु भयो भन्दा नेपालबाटै भएको हो । ऋषिमुनीहरुले नेपालबाट सुरु गर्नुभयो । यसबारे मैंले मात्र बोलेको होइन, शिवपुरी र खप्तड बाबाले पनि बोल्नुभएको छ ।
त्यसैले नेपाल संस्कार र आविष्कारको ज्ञानको भूमि भएको हुनाले एक पटक नेपाल टेक्नुपर्छ भन्ने हो । हामी यिनै कुराहरुलाई आधार मानेर आब्हान गर्न चाहन्छौं । यस्ता विभिन्न आधारहरुलाई मध्य नजर राखेर विश्वव्यापी क्याम्पेन सुरु गर्दैछौं ।
रामकोट केन्द्रविन्दु
यस्तो पवित्र अभियान सुरु गर्न हामीले जग्गा खोजिरहेका थियौं । सरकारले नारायण पोखरेल स्मृति प्रतिष्ठानको नाममा नागार्जुन नगरपालिका–७ रामकोटमा जग्गा प्रदान गरेको छ । सरकारले एक सय बर्षका लागि वा भोगाधिकारको रुपमा जग्गा प्रदान गरेको हो । रामकोटमा २२ रोपनी जग्गा प्राप्त भएपछि प्रतिष्ठान बनायौं । हामीले लिएको जग्गा नेपाल भूमिकै हो । नेपाल भूमि भनेको विश्वको अध्यात्मिक केन्द्र हो, गुरु राष्ट्र हो । त्यसैले रामकोटबाट हामी विश्वब्यापी अभियानमा जुटेका छौं ।
म एकपटक बेलायतमा जाँदा एकजना विदेशीले नेपाली टोपी लगाएको देखेर सोधे– ‘तपाईं नेपालबाट आउनुभएको हो ?’ अनि मैले प्रतिप्रश्न गरें–कसरी चिन्नुभयो ? उनले जवाफ दिए–टोपीले गर्दा चिनें भनेर उत्तर दिए । त्यसपछि उनले स्पर्श गर्दै ढोगे । अनि तिनै विदेशी नागरिकले नेपाल भनेको आध्यात्किम साधनाका लागि विश्वको उत्तम भूमि हो भनेर प्रष्टाए ।
नेपालमा साधना गरेर मेरो शरीरमा तंरगीत भएको भनेर उनले भनिसकेपछि मैंले परिकल्पना गर्न थालें । नेपाल गुरु राष्ट्र रहेछ भनेर त्यहाँबाट म थप तरगिंत भएँ । नेपाललाई चिनाउनुपर्छ भन्ने सन्देश मेरो दिमागमा बस्यो । मलाई झन त्यो कुराले उर्जा थप्यो र यस्तो विश्वव्यापी अभियानको शुभारम्भ यो ।
अर्का एकजना व्यक्तिले अमेरिकामा शालिग्रामको पूजा गरेको देखें । शालिग्राम कहाँबाट ल्याएको भनेर सोध्दा इन्डियाबाट ल्याएको भनेर जवाफ फर्काए । इन्डियामा शालिग्राम पाइँदैन भनेर मैंले स्पष्ट पारिदिएपछि उनी नेपाल आए । मुक्तिनाथ गएर शालिग्रामको शिला लिएर फर्किए । अहिले अमेरिकामा शालिग्राम पूज्ने गर्छन् । त्यसैले नेपाल शालिग्रामको भूमि पनि हो । विश्वमा १२५ करोड जति सनातनीहरु छन् त्यसमा बौद्धमार्गीहरु जोड्ने हो भने दुई अर्ब भन्दा बढी संख्या पुग्नसक्छ । त्यसैले उनीहरुलाई नेपालसँग जोड्न मन छ । हरेकले घरमा राखेर पूज्ने शालिग्राम नेपालको नै हो भनेर प्रष्ट पार्न मन । त्यसैले नेपाल शालिग्रामको भूमि हो । वेदको भूमि हो र बुद्धको भूमि हो भनेर प्रचार गर्न सक्यौं भने अरु केही गर्न पर्दैन् । पर्यावरण भनेर जंगल देखाउनु पर्दैन, पर्वतारोहण भनेर देखाउनु पर्दैन । नेपाललाई आध्यात्मिक पर्यटकीय भूमि भनेर चिनाउन सकियो भने सबै क्षेत्रलाई समेट्न सक्छ ।
रामकोटमा बद्रीधाम
यिनै संभावनाहरुको खोजीका लागि हामीले काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ७ रामकोटमा अध्यात्मिक केन्द्रसहित बद्रीधाम निर्माण गरेर क्याम्पेन सुरु गरेका छौं । यसले नेपाल आध्यात्मिक पर्यटकीय भूमि हो र नेपालमा सबैले टेक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छौं । आध्यात्मिक साधना र योग गर्नुपर्छ भन्ने उद्देश्यले एक पटक नेपाल टेक्नैपर्छ भनेर विश्वब्यापी अभियान सुरु गरेका हौं ।
यसको मूल उद्देश्य भनेको चार धामको नाममा नेपालबाट विदेशिने रकम नेपालमै रहन्छ भन्ने विश्वास हो । बद्री–केदार दर्शन गर्न जान नसक्ने शारीरिक रुपमा अशक्त, बृद्धबृद्धहरुका लागि सजहरुपमा यही दर्शन गराउने लक्ष्य हो । भारतका धामहरु धाइरहनुपर्ने बाध्यताको अन्त्यका लागि नेपाल नै काफी छ भन्ने अभियान सुरु गरेका हौं ।
विचारवादको वकालत
नेपालबाट अर्थात रामकोटबाट हामी विचारवादको वकालत सुरु गर्न चाहन्छौं । त्यो राजनीतिक विचारवाद होइन, जीवन जीउने विचारवाद हो । अध्यात्मवाद र भौतिकवादको समिश्रणबाट मध्यमार्ग धारबाट जीवन चल्नुपर्छ भनेर यस्तो वकालतको सुरुवात गर्न चाहन्छौं । यसमा चाहे राजनीतिकर्मी हुन् या विभिन्न सेवा निबृत्त व्यक्ति नै किन नहुन् यसमा सहभागी हुन सक्छन् ।
हरेक व्यक्ति अध्यात्मवाद र भौतिकवाद बन्नुपर्छ भन्ने किसिमबाट साधना सिकाएर नेपाल अध्यात्मवाद र भौतिकवादको समिश्रणबाट चल्ने मुलुक हो भन्ने सन्देश प्रवाह गर्न खोजेका हौं । एकदिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ भन्ने हाम्रो लक्ष्य हो । किनकी नेपालसँग वेद र बुद्ध छ । योग र ध्यानले विश्वको नेतृत्व नेपालले गर्नेछ । आध्यात्मिक साधना भनेको योग र ध्यानबाट जानुपर्छ भन्ने हो ।
बैदिक सनातनीहरु मन्दिरको दर्शन गर्न जालान्, इस्लाम, इसाइहरु आध्यात्मिक ज्ञान लिन नेपाल आउनेछन् । पूजापाठ गर्ने मात्र होइन आफूलाई खोज्नु अध्यात्म जरुरी छ । आफूलाई शान्त, नियन्त्रणित राख्न योग र साधना जरुरी छ । किनकी हरेक मानिस मानसिक रोगको शिकार भइरहेका छन् । अर्बपती भएपनि सुत्नेबेला निन्द्राको ट्याब्लेट खाएर सुतिरहेका छन् । यस्तो समस्याको व्यवस्थापन गर्न र उर्जा भर्न ध्यान एवम साधना जरुरी छ ।
प्राण प्रतिष्ठाबाट अभियान शुभारम्भ
अध्यात्म ज्ञानका लागि योग र साधना जरुरी रहेकाले हामीले रामकोटबाटै नयाँ अभियान सुरु गर्दैछौं । २०८२ बैशाख १९ गते देखि २७ गतेसम्म प्राण प्रतिष्ठा गर्दैछौं । त्यहाँ राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्म, सबै दलका उच्च पदस्थकदेखि सन्त,महन्त, लामा, गुरु सबै आउनुहुन्छ । धेरै ठाउँबाट भक्तजनहरु पनि बोलाएका छौ । त्यसको लागि तीन हजार एक जनाको मूल समारोह समिति निर्माण गरिएको छ । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेको अध्यक्षतामा उक्त समिति बनेको छ । तीनसय ११ को विभिन्न पदहरु सिर्जना गरेका छौं । ६०÷६५ वटा उपसमितिमार्फत थप काम अगाडि बढेको छ ।
यसैगरी व्यवस्थापिकीय कामहरु पनि अगाडि बढ्दै छन् । प्रसार प्रसारको काम तिब्र भइरहेको छ । तर सरकारबाट अपेक्षित जति हुनुपर्ने त्यो सहयोग प्राप्त भएको छैन् । नार्गाजुन नगरपालिकाले पूर्ण साथ दिएको छ । पीताजी र मैंले गुन लगाएका भक्तजनहरुबाट उत्साहजनक साथ मिलिरहेको छ ।
अहिले २२ रोपनी जग्गामा काम सुरु भएपनि थप ६० रोपनी जग्गा थप्ने योजनामा छौ । र निकट भविश्यमा एउटा साधना केन्द्रसहित बैदिक अध्ययन स्थल पनि बनाउने योजनामा छौं । आध्यात्मिक समावेशी किसिमको शिक्षालय पनि खोल्दैछौ । किनकी त्यहाँ पुगिसकेपछि वेद र बुद्धको सन्देशबारे ज्ञान हासिल गर्न सकोस । योग र ध्यानलाई चिन्न सकोस् र नेपाललाई चिनोस् भन्ने नै हो । नेपाल आमाको गरिमालाई उठान गर्ने र भूमिलाई हँसाउने पवित्र लक्ष्य हो ।
यस्तो कामको शुभारम्म बद्री नारायण प्राण प्रतिष्ठाबाट गर्दैछौ । मैले भक्तजनलाई आव्हान तीन किसिमबाट गर्ने गरेको छु । नारायण गुरुलाई श्रदान्जली गर्न आउनुहोला, किनभने बैशाख २३ गते नारायण गुरुको हत्या भएको २० वर्ष पुरा हुँदैछ । अर्को विश्वलाई नेपाल चिनाउँदै छौ । नेपालले् विश्वलाई नेतृत्व गर्नेछ भन्ने अभियानलाई साथ दिन आउनुस् भन्न चाहन्छु ।
प्रतिक्रिया