काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते देखि रिलिज भई सुपर हिट भएको छ ।
चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न चलचित्र हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहेकी छिन् ।
शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।
धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन् । एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गरिन् ।
धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ’अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।
एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्। निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
.यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ ।
प्रतिक्रिया