Logo

समाचार

स्वर्गीय पत्रकार रजकको हत्याविरुद्ध पत्रकार महासंघ धनुषाद्वारा विरोध र्याली



धनुषा । पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध र्याली निकालेको छ ।

शनिबार बेलुका निकालीएको ¥यालीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणलाई निस्तेज पार्न दबाब दिएका छन् ।

विरोध ¥यालीमा सहभागी धनुषाका पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको र्याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोकमा पुगेर पुनः जनक चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए । उनले सञ्चारगृहमा भएको तोडफोडको क्षतिपूर्ति माग गर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरे ।

‘हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौं,’ गुप्ताले भने । उनले अहिले आन्दोलनकारीहरु समेत पत्रकार र मिडिया हाउसलाई लक्षित गरेर हिंसा मचाउँदै गरेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई गोलबद्ध हुन अपिल गरे ।

¥यालीमा सहभागी दुई दर्जनभन्दा बढी पत्रकारहरुले महासंघको भवन अगाडि एक मिनेट मौनधारण गर्दै दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरुले दीप प्रज्वलन गरेर रजकको सम्झनामा एकताबद्ध भएर आफूहरुको संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठूलो हलचल मच्चाएको छ । पत्रकार महासंघ धनुषाले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ४० बजे