Logo

मुख्य समाचार

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र



काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।

चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।

तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।

आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी÷निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।

प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ०६ बजे