काठमाडौं । प्रदर्शनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईं हाल सम्पर्कविहीन भएका छन्। प्रहरीले उनलाई पक्राउ गर्नका लागि विभिन्न स्थानमा खोजी जारी राखेको छ। प्रहरी टोलीले भक्तपुर स्थित उनका घरमा खोजी गर्दा पनि प्रसाईं भेटिएका छैनन्।
प्रहरी स्रोतका अनुसार, प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली खटाइएको थियो, तर उनी फरार बनेका छन्। प्रहरी अधिकारीहरूले जनाएका छन् कि, प्रसाईंको खोजीलाई तीव्र बनाइनेछ र उनी छिट्टै पक्राउ पर्ने आशा गरिएको छ।
प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा अराजकता मच्चाएका थिए। उनीहरूले तोडफोड र अराजक गतिविधिहरु गरेका थिए जसको कारण प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। यसै गोली प्रहारमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ।
त्यस्तै, प्रदर्शनकारीहरूले एक घरमा आगो लगाएका थिए जसका कारण पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ। घटनाले राजधानीको सुरक्षा र शान्तिपूर्ण अवस्था माथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको छानबिन गर्दै राहत र उद्धार कार्यमा जुटेको छ।
प्रहरीले जनाएअनुसार, प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधिहरूमा संलग्न भएको र जनजीवनलाई असुरक्षित बनाएको भन्दै स्थिति नियन्त्रणमा ल्याउन कदम चालिएको छ। प्रसाईंको गिरफ्तारीको लागि थप प्रहरी टोली गठन गरी खोजीलाई तीव्र बनाइने प्रहरी अधिकारीहरूले बताए।
प्रतिक्रिया