काठमाडौं । सार्वजनिक यातायातमा महिला यात्रीहरूको सुरक्षा अझै पनि चुनौतीपूर्ण मुद्दा बनेको छ। यद्यपि नेपाल सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नका लागि कानूनी प्रबन्धहरू गरेको छ, तर व्यवहारमा यी प्रबन्धहरू पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन। महिलाहरूका लागि सिटको व्यवस्था जस्तो कानूनी कदम भए तापनि, सार्वजनिक यातायातमा भीडभाड र दुर्व्यवहारको समस्या अझै पनि यथावत् रहेको छ।
सार्वजनिक यातायातमा महिला यात्रुहरुको भोगाई प्रत्यक्ष रुपमा सुन्ने र बुझ्ने क्रममा बागबजारदेखि भक्तपुरको नयाँ बाटोसम्मको यात्राको क्रममा भेटिएकी परिवर्तित नाम अनुराधा (नाम नखुलाउने शर्तमा) । उनी बागबजारको एक कपडा पसलमा काम गर्छिन् । प्राय: सबै मानिसहरुको कामको समय १० बजे देखि ५ बजेसम्म भएकाले यो समयमा गाडिमा मानिसहरु थुप्रिने गरेको उनी सुनाउँछिन् ।
सार्वजनिक यातायातमा सबै किसिमका मानिसहरु चढ्छन् । सबै मानिस गलत हुन्छन् भन्ने नि छैन र सबै मानिस सहि हुन्छन् भन्ने नि छैनन् । उनले कुराकानिको क्रममा गम्भीरता पूर्वक आफ्ना विचार राखिन् । सार्वजनिक बसमा जब भिडभाड हुन्छ तब असर महिलालाई पर्ने र अनैतिक किसिमका घटनाहरू घट्ने गरेको धेरै पाइन्छन् । सार्वजनिक बसमा महिलाहरू सुरक्षित छन् कि छैनन् भनि प्रश्न गर्दा उनी भन्छिन् ,” सार्वजनिक यातायातमा जति पनि कानुन र आदर्शको कुराहरू लेखिएता पनि व्यवहारमा भने लागू भएको देखिँदैन । ”
सार्वजनिक यातायातमा जथाभावी यात्रु राख्ने र भिडभाड गराउनाले पनि महिलाहरुमाथि हिंसा हुन सक्ने आममानिसको बुझाइ छ । त्यस्तै मनोविद्हरुका अनुसार पनि सार्वजनिक बसमा हुने भिडभाडका कारणले महिलाहरुलाई अनैतिक किसिमले अरु व्यक्तिले छुदा उनीहरुले आफू माथि भएको हिंसा विरुद्ध आवाज उठाउन नसक्दा ,दबाएर राख्ने र सो कुराले उनीहरुलाई मानसिक रुपमा असर पुर्याइरहेको बताउँछन्।
त्यस्तै टिकाथलि देखि महाराजगन्जसम्म चल्ने नेपाल यातायातमा भेटिएकी कलेज पढ्ने छात्रा अप्सार खड्का त नेपाल यातायातमा जस्तो अन्य बसमा यात्रु अलिक कम नै हुने महशुस गर्छिन् । सिट पाउने त परको कुरा यहाँ त सास फेर्न पनि उस्तै परे गह्रौ हुने उनी बताउँछिन् । यात्राको क्रममा तपाईं माथि हिंसा भएको महशुस भएको छ कि छैन भनि सोध्दा, उनी भन्छिन् ,”कतिपय अवस्थामा बसमा आफूमाथि भएको दुर्व्यवहार विरुद्ध आवाज उठाउँदा पनि बसभित्रका यात्रीहरुले आफूलाई साथ दिएका छैनन् ।” यसरी आफूले साथ नपाउँदा हिंसा गर्ने व्यक्तिलाई झन् आत्मबल बढ्दै जाने उनको दाबी छ।
यात्रु मात्रै नभई कहिलेकाहीँ टेम्पु चालिका महिला पनि महिला हिंसामा परेको रुपा तामाङको भोगाई सुन्दा महशुस गर्न सकिन्छ । रुपाले टेम्पु चलाउन थालेको ७ बर्ष नाघि सक्यो । उनले कहिलेकाहीँ पुरुष यात्रुहरुबाट पनि अनैतिक हिसाबले बोल्ने जसले गर्दा उनी माथि मानसिक रुपमा गहिरो असर पर्ने उनी सुनाँछिन् ।
त्यस्तै रत्नपार्क देखि लगनखेलसम्म लाग्ने माइक्रो बस चढ्दा भेटिएकि अनुपा घले ,सार्वजनिक बसमा अहिले महिला सिटमा महिला नै बस्छन् पुरुष बस्दैनन् तर सार्वजनिक साधनमा सिट क्षमताभन्दा बढि मान्छे राख्ने गर्नाले चाहिँ महिला माथि मानसिक र शारिरिक हिंसा हुन पुगेको उनको बुझाइ छ । घले भन्छिन्,”असल मान्छेहरु पनि भेटेको छु र खरब मान्छेहरु पनि भेटेको छु।” बसमा भीडभाड हुँदा अनैतिक किसिमले छुन खोज्ने, डन्डिमा हात राख्दा पुरुषले पनि त्यहीँ हात राख्ने जस्तो दुर्व्यवहार आफू माथि भएको उनले सुनाईन् । यस्तो किसिमको दुर्व्यवहार हुँदा पीडा कसलाई सुनाउ भन्ने दुविधा मनमा पैदा हुने उनले बताइन् । यस्ता अवस्थामा आफूमाथि भएको दुर्व्यवहार अरुलाई सुनाउँ भने भिडभाडमा यस्तो हुनु स्वभाभिक हो भन्छन् भने नसुनाउ भने आफू माथि भएको हिंसा कसरी चुप बस्नु ?
सिटको मात्रै व्यवस्था गरेर महिला सुरक्षित हुन्छन् भन्ने होइन। उनले कुरा थप्दै भनिन् सिट नपाएको खण्डमा महिलाहरू कैयौं उभिएको अवस्थामा पनि भेटिन्छन् । यसरी उभिँदा भिडमभिड हुँदा महिला आफूलाई सुरक्षित नभएको महसुस पनि गर्छन् ।
कतिपय महिलाहरू आफ्नो नै बेइज्जत हुने डरले उनीहरू आफूमाथि भएको हिंसा पनि चुपचाप सहि रहेको उनीहरू बताउँछन् । महिलाहरूको हक हितका लागि सरकारले विभिन्न खालका नियम कानुनहरु बनाएको छ । त्यस्ता विभिन्न नीति नियमहरूमध्ये सार्वजनिक बसमा महिलाहरूको लागि सिटको व्यवस्था पनि गरिदिएको छ। सिट मात्रै पाएर पनि उनीहरू सुरक्षित महसुस नगरेको महिला यात्रीहरू बताउँछन्।
सार्वजनिक बसहरूमा यात्रीहरू कोचाकोच गरेर राखिने प्रवृत्ति आम मानिसले देखिरहेको कुरा नै हो। यसरी सार्वजनिक बसमा यात्रीहरु थुपार्नु एक हिसाबले उनिहरुलाई गन्तव्यतर्फ पुर्याउनु सहज भएतापनि अर्कोतर्फ महिला यात्रीहरूलाई भने असहज हुने गरेको महिला यात्रीहरू गुनासो पोख्छन् ।
कतिपय अवस्थामा आफूमाथि भएको हिंसा कसरी व्यक्त गर्ने भन्ने कुरामा आफै अलमल परिने अवस्था रहेको उनीहरू बताउँछन् । आफूमाथि अनैतिक रूपले छोइएको महसुस भएको कुरा व्यक्त नगरुम भनेपनि हिंसा भईभई सहि रहनु ठिक हैन जस्तो लाग्छ । साच्चिकै भन्नु पर्दा दुविधा सृजना गराउने स्थित आई परेको महिला यात्रीहरुको गुनासो राख्छन् ।
सार्वजनिक यातायातमा जब भिडभाड हुन्छ तब खासगरी महिलाहरुमाथी हिंसा तथा दुर्व्यवहार हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले समेत देखाएका छन् । त्यसकारण पछिल्लो समय के सार्वजनिक यातायातमा महिलाहरु सुरक्षित छन त? भन्ने बिषय पेचिलो बन्दै गएको छ ।
यूएन वुमन नामक संस्थाले महिला सुरक्षा परीक्षण शिर्षकमा एक बर्ष लगाएर गरेको एक अध्ययन प्रतिवेदनले पनि नेपाली महिलाहरु बिभिन्न प्रकारका हिंसाबाट पिडित रहेको, कुनै डर त्रासविना एक्लै हिँड्डुल गर्न सक्ने अवस्था एकदमै न्युन रहेको र लैङ्गिक समानताको अवस्था पनि निराशाजनक रहेको देखाएको छ ।
उक्त प्रतिवेदनका अनुसार ७८ प्रतिशत महिलाहरुले घर वा सार्वजनिक स्थलमा सुरक्षित महसुस नगरेको, ७० प्रतिशत बालिकाहरुले तथा महिलाहरुले बिहान र साँझको समय असुरक्षित रहेको अनुभव गरेको र ९० प्रतिशत महिलाहरूले अपरान्ह ५ वजेपछि घर बाहिर निस्कन असुरक्षित रहेको महसुस गरेको निष्कर्ष निकालेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि प्रत्येक तीन मध्ये एक महिला आफ्नो जिवनमा कुनै न कुनै प्रकारको हिंसाबाट प्रभावित हुने गरेको देखाएको छ ।
राजधानीमै चल्ने सार्वजनिक यातायातमा हुन्छन् महिलामाथी हिंसा र दुर्व्यवहारका घटना,
माथी उल्लेख गरिएका प्रतिनिधीमुलक महिला दुर्व्यवहारका घटना काठमाडौं उपत्यका अर्थात राधानीभित्रकै हुन् । उपत्यकामा चल्ने सार्वजनिक यातायातमा निकै भिडभाड हुन्छ । त्यसकारणले पनि उपत्यकाका सार्वजनिक यातायातमा महिला यात्रीहरूको सुरक्षा अझै पनि चुनौतीपूर्ण रहेको उल्लेखित घटनाहरुले नै स्पष्ट पार्दछ ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यका अनुसार यो वर्ष मात्रै सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार विरुद्ध उजुरी गर्न आउनेको संख्या २ हजार ३सय ५ रहेका छन् । यो बर्षको तथ्यांका हेर्दा अझै पनि सार्वजनिक बसमा महिलामाथि हुने दुर्व्यवहार न्युनिकरण भएको देखिदैन ।
त्यस्तै सार्वजनिक बसमा मात्रै ५८ वटा महिला माथी भएका दुर्व्यवहारका घटना दर्ता भएका छन् । जुन तथ्यांकलाई हेर्दा यो विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
प्रहरी नायब महानिरीक्षक आचार्यका अनुसार यस्ता घटना अझ बढी पनि भएका हुनसक्छन् । किनभने कतिपय महिलाहरुले आफ्नो नै बेइज्जत हुने डरले आफूमाथि भएको हिंसा बााहिर ल्याउन चाहेका हुदैनन् ।
महिलाको हकमा प्रर्याप्त कानुनको व्यवस्था तर सन्तोषजनक छैन् कार्यान्वयन
कार्यान्वयनको अवस्था महिलाको सुरक्षा तथा अधिकारको रक्षाको लागि प्रर्याप्त कानुनी र नीतिगत व्यवस्था भएपनि कार्यान्वयनको अवस्था सन्तोषजनक देखिदैन । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ ।
यस्तै महिलामाथि हुने घरेलु हिंसा (नियन्त्रण र कसुर) सजाय ऐन २०६६ समेत कार्यान्वयनमा रहेको छ । मुलुकी अपराध संहिता २०७४ तथा मुलुकी देवानी २०७४ ले पनि यो बिषयलाई समेटेको छ ।
नेपाल सरकारले सार्वजनिक यातायातमा यात्रा गर्ने महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नका लागि पनि विभिन्न कानूनी प्रबन्धहरू गरेको छ । जसलाई महिलाहरूका लागि आरक्षण सिटको व्यवस्था गरिएको उदाहरणलाई लिन सकिन्छ ।
तर पनि यी यस्ता कानुनहरु व्यवहारिक रुपमा लागु हुन नसक्दा सार्वजनिक यातायातमा हुने भीडभाड र दुर्व्यवहारको समस्या अझै यथावत रहेका पाइन्छ।
प्रतिक्रिया