Logo

मुख्य समाचार

चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकार सधैँ प्रतिबद्ध छ’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको दिगो विकासका लागि अपेक्षित सहयोग पु¥याउन सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित निफको समापन समारोहमा उनले समाजको दर्पण र आर्थिक सामाजिक समृद्धिको आधारको रुपमा चलचित्र क्षेत्र रहेको भन्दै यसको दिगो विकासका लागि नीतिगत र संरचनात्मक लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैँ तयार रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली चलचित्रलाई विश्व मञ्चमा स्थापित गर्न यस्ता फिल्म महोत्सवहरुको ठूलो भूमिका रहेको हुन्छ । नेपाली चलचित्र उद्योगको ५० वर्षभन्दा लामो इतिहास छ जुन हाम्रो कला संस्कृती र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनि सकेको छ । समाजको दर्पण र आर्थिक सामाजिक समृद्धिको आधारको रुपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत र संरचनात्मक लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैँ प्रतिबद्ध छ ।’

यस्तै, उनले २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौती अनुसार संशोधन र एकिकरण गरि नयाँ ऐन निर्माणको काम अघि बढिरहेको पनि बताए ।  

उनले भने, ‘२०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरि समसामयिक संशोधन र एकिकरण गरि नयाँ ऐन निर्माणको काम अघि बढिरहेको छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शि र लगानीमैत्री बनाउने विषयमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’

मन्त्रालयले चलचित्र विकास बोर्ड मार्फत चलचित्र क्षेत्रको विकासका लागि पछिल्लो ६ महिनामा विभिन्न महत्वपूर्ण पहलहरु अघि सारेको पनि उनको भनाई छ ।

उनले भने, ‘मन्त्रालयले चलचित्र विकास बोर्ड मार्फत चलचित्र क्षेत्रको विकासका लागि पछिल्लो ६ महिनामा विभिन्न महत्वपूर्ण पहलहरु अघि सारेको छ । जस्तै बनेपामा आधुनिक फिल्म स्टुडियोको निर्माणको लागि टेन्डर प्रक्रिया सम्पन्न भईसकेको छ । आगामी आर्थिक वर्षभित्रै नेपालको सबैभन्दा ठूलो इन्डोर स्टुडियो स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ४० बजे