जनकपुर । धनुषामा क्षयरोगको अवस्था भयावह बन्दै गएको जनाइएको छ ।
सोमबार विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारी पछि क्षयरोगको संख्यामा वृद्धि भएको जानकारी दिएका छन् ।
उनले विगत ६ महिनामा मात्र धनुषा जिल्लामा क्षयरोगका ७ सय ३४ विरामी देखिएको बताए । मधेश प्रदेशभरिमै पर्सा जिल्लापछि सबैभन्दा बढी क्षयरोगको विरामी धनुषामै रहेको जनाए । अहिले क्षयरोग महामारी जस्तै फैलिरहेको बताए ।
उनले कोरोना महामारीकै समयदेखि तीनै तहको सरकारले क्षयरोगलाई वेवास्ता गरेको आफूलाई अनुभव भएको सुनाए । उनले कहिले औषधी नपाउने, कहिले संघ, प्रदेश र स्थानीय तहले समन्वय नगर्ने, कहिले विरामीले औषधीलाई निरन्तरता नदिनेलगायतका कारण अहिले क्षयरोगको स्थिती भयावह बनेको बताए ।
उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी दिए ।
यी पाँच पालिका सहित अन्य पालिकाहरुमा पनि निरन्तर खकार जाँच र डट्स प्रविधीबाट क्षयरोगको उपचार हुने गरेको प्रमुख यादवले जनाए ।
विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधामस्थित जनस्वास्थ्य कार्यालयबाट विद्यार्थी, स्वास्थ्यकर्मी, विभिन्न सरकारी निकायका पदाधिकारीहरुले प्रभातफेरि निकालेका थिए ।
प्रतिक्रिया