Logo

मनोरञ्जन

दर्शकसँगै राजनीतिज्ञले रुचाए ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा



काठमाडौं । गत शुक्रबार चैत ८ देखि प्रदर्शन भएको फिल्म ‘द्रौपदी’लाई दर्शकसँगै राजनीतिज्ञले रुचाएका छन् ।

फिल्म हेर्न हलमा पुगेकाले यसमा उठाएको बहुपति प्रथा विरुद्धको आवाजसँगै डोल्पाको सुन्दरतालाई प्रसंशा गरेका छन् । गत शुक्रबार साँझ काठमाडौँमा आयोजित एक विशेष प्रदर्शनीमा शो हेरेपछि पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्माले फिल्म संदेश प्रवाह गर्ने सबैभन्दा सशक्त माध्यम रहेको बताइन् ।

उनले भनिन्,‘हामीले भाषण गर्ने वा आर्टिकल लेख्ने भन्दा फिल्ममार्फत दिएको संदेश सबैले बुझ्ने गरी पुग्छ । त्यसकारण पनि यो मनोरञ्जनमा मात्र सिमित छैन् । यो फिल्मले हाम्रो नेपालमा अझैँ पनि सानो रुपमा व्याप्त कुप्रथा बहुपति प्रथाको विरुद्धमा आवाज उठाएको छ । यो समयसँगै रुपान्तरण हुनुपर्छ भन्ने संदेश दिएको छ । यो प्रसंशनीय कार्य हो, फिल्मले दिएको संदेश राम्रो छ ।’

उनले कलाकारले आफूलाई डोल्पाकै परिवेसमा ढालेर जीवन्त अभिनय गरेको प्रतिक्रिया दिइन् । नयाँ कलाकार भएता पनि आफूले कथावस्तु सिर्जना गरिएको डोल्पाकै झैँ सबैलाई जीवन्त पाएको भन्दै पूर्वमन्त्री शर्माले प्रसंशा गरिन् ।

‘मैले फिल्म हेर्दा डोल्पाकै स्थानीयले अभिनय गरेको जस्तो पाएँ, त्यो सम्पूर्ण कलाकारको अभिनयको प्रभाव हो । हामीले भनिरहेको अवस्था परिवर्तन आर्थिक मात्र नभई यस्तै सामाजिक र सांस्कृतिक हो । फिल्म राम्रो बनेको छ’, उनले भनिन् ।

फिल्म हेरेर प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले पनि तारिफ गरे । उनले कलाकारको अभिनय, डोल्पाको सुन्दरतालाई फिल्ममा देखाइएको भन्दै प्रसंशा गरे ।

‘कर्णाली काटौँला’ गीतलाई दर्शकले रुचाएका छन् । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन ऋषिराज आचार्यको छ ।

निर्देशक आचार्यले फिल्म हेर्न आइपुगेका दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । उनले भने,‘देशभरबाट मैले फिल्म हेर्ने दर्शकको प्रतिक्रिया लिएको छ, हेर्नेले यसको निकै तारिफ गरेका छन् । हामीले उठाएको विषय र त्यसमा दिएको संदेशलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको पाएँ । दर्शक प्रतिक्रियाले आगामी दिनमा फिल्मको व्यापार पनि बढ्ने अपेक्षा छ ।’

फिल्ममा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गरेका छन् । आर बि मुभिजमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ११ : ३३ बजे