काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवमा पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् । २०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्य हुँदै सङ्गठनको विभिन्न तह र जिम्मेवारीहरूमा रहेर कुशलतापूर्वक काम गर्दै आएका पाण्डेले आफूलाई बलियो र स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।
‘प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरुको भरलाग्दो अब्बल र गतिशील सङ्गठनका रुपमा अगाडि बढाउने दृढ सङ्कल्प र प्रतिवद्धतासहित सङ्गठनको कार्यकारी जिम्मेवारी (महासचिव) को स्वाभाविक दावेदारका रुपमा अगाडि बढ्ने सोच बनाएको छु,’ आफ्नो उम्मेदावरी घोषणा गर्दै उनले शुक्रबार सामाजिक सञ्चालनमा लेखेका छन् ।
प्रेस चौतारी नेपालमा करिब २२ वर्षको ऊर्जाशील समय बिताएका पाण्डे काठमाडौं जिल्लाको संस्थापक सदस्य हुन् । त्यसपछि उनले तत्कालीन उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव हुँदै काठमाडौं जिल्ला समितिको सल्लाहकार भएर काम गरे ।
पत्रकार पाण्डे पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी (काठमाडौं), पोखरा हुँदै तेस्रो महाधिवेशनदेखि १०औँ महाधिवेशनसम्म सातौँ पटकको प्रतिनिधि हुन् । केन्द्रीय सदस्य तथा प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय कमिटी सचिव हुँदै उपमहासचिवसम्मको विभिन्न तहगत जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका पाण्डेको उम्मेदवारीलाई चौतारी वृत्तमा स्वाभाविक र बलियो मानिएको छ ।
नेतृत्व चयनका सन्दर्भमा आफ्नो सङ्गठनको मातृपार्टी नेकपा एमालेले अघि सार्ने विधि र प्रक्रियालाई आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्व चयनको प्रक्रिया र प्रयास पारर्शी तथा निश्चित मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । ‘निश्चय पनि दुई दशकको अविरल यात्रा सङ्गठनमा बिताएको एक सिपाहीको नाताले पार्टीले अगाडि सारिरहेको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई मैले नेतृत्व चयनको प्राथमिक लोकतान्त्रिक विकल्पकै रुपमा आत्मसात गरिरहेको छु । तर यस्तो प्रयास पारदर्शी, एक व्यक्ति ः एक मुख्य जिम्मेवारी, व्यक्तिको योगदान, आवश्यकता, योग्यता, क्षमता जस्ता निश्चित मापदण्डमा आधारित हुनुपर्दछ,’ उनले भनेका छन् ।
नेतृत्व चयनको सुरूवाती प्रक्रिया सहमतिको प्रयास आम प्रतिनिधिहरूको भावना र चाहनाविपरीत व्यक्तिगत स्वार्थपूर्तिका लागि होइन पार्टीको हित तथा चौतारीको संस्थागत र स्वस्थ दीर्घ जीवनका लागि अगाडि बढाउनका निम्ति हुनुपर्ने धारणा उनको छ । त्यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्दै महाधिवेशन सफल पार्न उनले सबैमा हार्दिक अपिल समेत गरेका छन् । उनी हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि कोशी प्रदेको राजधानी विराटनगरमा सुरू हुँदैछ । १२ गते सम्पन्न गर्नेगरी तय गरिएको महाधिवेशन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
प्रतिक्रिया