Logo

मुख्य समाचार

अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन्: नेता कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए ।

उनले भने, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौं । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भनेपनि हुन्छ । उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ । मन्त्रिपरिषद्मा जान्छ । उहाँहरुलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु । कांग्रेस सत्ता पक्षको हो । तर सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौं । हाम्रो काम खबरदारी गर्ने हो ।’

त्यस्तै उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए । गिरिजाप्रसाद वितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए ।

उनले भने,‘जुन परिदृष्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावहक अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । तर १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौं । नेताहरुले हामीहरुले केही पाठ नै सिक्न सकेनौं ।’

त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सुजता कोइराला,चन्द्र भण्डारी र भिष्मराज आङदाम्बे लगायतले सम्बोधन गरेका थिए ।  

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : ३२ बजे