काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्य जनजातीको विषयमा अझै उदार हुन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक छलफल कार्यक्रममा उनले २२ जना मन्त्रीमा तीनचार जना मात्र जनजाति र दुईजना महिला रहेको भन्दै राज्य उदार हुन नसकेको बताए ।
उनले भने, ‘जनजातीहरुले शासन गर्न जानेको छैन्, किनभने शासन सत्तामा नै छैन् २४० वर्ष अहिले पनि छैनन् । २२ जना मन्त्रीमा तीनचार जना मात्र जनजाति छौं त्यसमा महिला दुईजना छन् । भनेपछि अझै पनि हाम्रो राज्य उदार हुन सकेको छैन् । यो सबै कुरा हेर्दा हामी सिकाइकै क्रममा छौ ।’
यस्तै, उनले समृद्ध नेपाल कुनै एउटा प्रदेश र जाती समृद्ध भएर मात्र नहुने भन्दै देशमा रहेका अल्पसंख्यक, लोप हुन लागेका जातहरुलाई नउठाइकन मुलुकको दिगो विकास नहुने बताए ।
उनले भने, ‘शासन पार्टीले चलाउने हो र पार्टीहरुको नेतृत्वमा जनजातीलाई जसरी भएपनि उठाउनुपर्छ यीनिहरुलाई नउठाइ मुलुक बन्दैन् भनेर जानुपर्छ । समृद्ध नेपाल कुनै एउटा प्रदेश समृद्ध भएर, एउटा मात्रै जाती समृद्ध भएर हुँदैन् । यति धेरै जातजाती भएका देशमा जहाँ अल्पसंख्या, लोप हुन लागेका जातहरु छन् उनीहरुलाई नउठाइकन मुलुकको दिगो विकासको लक्ष्य कसरी पूरा हुन्छ ।’
यस्तै कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालको संविधानले अधिकारहरुमा कतै पनि विभेद नगरेको भन्दै अब यसलाई व्यवहारिक तरिकाबाट कार्यान्वयन गर्ने सरकारको पहल र प्रयत्न रहने बताए ।
उनले भने, ‘हाम्रो संविधानमा सबै जात, जाती, धर्म र वर्गको अधिकारलाई सुरक्षित गरेर अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा गरेका छौ र यो संविधान अनुसार यो देशमा सबै जातजाती भाषा भाषी, क्षेत्र, लिङ्ग समुदायलाई समान आँखाबाट हेरेर मौलिक हक हेर्ने हो भने समानताको हक, सामाजिक न्यायको हक लगायतका विभिन्न हकहरुबाट हामी सबैलाई साझा तरिकाबाट राज्यबाट प्राप्त हुने अधिकारहरुमा कतै पनि विभेद गरिएको छैन् । त्यसकारण अब यसलाई व्यवहारिक तरिकाबाट कार्यान्वयन गर्नका लागि अब हाम्रो पहल र प्रयत्न हो सरकारको तर्फबाट यसको लागि काम गर्ने हो ।’
सोही कार्यक्रममा नेकमा माओवादीका सांसद माधव सापकोटाले प्रथम संविधान सभाको बेलामा माओवादी पछाडि परेका, पारिएका जाती र समुदायलाई विशेष प्रकारको अधिकार दिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै दोस्रो संविधान सभामा भिन्न मत मात्र राखेको ती कुराहरु नछोडेको बताए ।
उनले भने, ‘प्रथम संविधान सभाको बेलामा माओवादी पार्टीले उठाएको कुरा भनेको पछाडि परेका र पारिएका जाती, समुदाय वर्ग र लिङ्गलाई विशेष प्रकारको अधिकार दिनुपर्छ भनेर भनेका थियौं । त्यसमा मात्र अडान लिंदा यतिको संविधान पनि नआउने अवस्था भएपछि दोस्रो संविधान सभामा भिन्न मत राखेर हामी सहमत भएर सम्झौता गरेर अगाडि आएका हौं । ती कुराहरु छाडेका छैनौ । आफ्ना अधिकारका लागि आफै लड्नुपर्छ । अधिकारका लागि सक्रिय रहनुपर्छ ।’
त्यसैगरि नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले नेताहरुको जसलाई भेट्यो त्यसैको हुने बानी हुने भन्दै उनीहरुले काम गरेको छ कि छैन् भनेर हेर्ने काम अन्य समुदायको भएको बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले अब चेपाङ्हरु प्रगतीको बाटोमा हिड्नुपर्ने भन्नै त्यसमा आफूले साथ दिने बताए ।
उनले भने, ‘कार्यक्रमले मान्छेलाई बलियो बनाउने हो । हामी कार्यक्रमबाट बलियो हुन खोज्यौं । त्यही अनुसारले अगाडि बढ्नको लागि म सल्लाह दिन चाहन्छु । अब चेपाङ्हरुको प्रगती उन्नती होस त्यही भन्न चाहन्छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राजेन्द्र पाण्डेले राखेको धारणाबारे बोल्दै आफू पञ्चायतकालदेखि संघीय सांसदको पद लिएर बस्ने भन्दै चेपाङ्हरु अगाडि बढ्नुपर्छ भनेर भाषण मात्र गरेरे केही नहुने बताए ।
प्रतिक्रिया