काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड प्रक्रिया आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएकोमा १ लाख ८४ हजार ५०० आवेदकलाई १० कित्ताका दरमा शेयर प्राप्त भएको छ। तर, १७ लाख ७१ हजार १८५ आवेदकको हात खाली भएको छ।
कम्पनीले फागुन २२ देखि २६ गतेसम्म प्रति कित्ता १०० रुपैयाँका दरमा आईपीओ जारी गरेको थियो। यो आईपीओमा १९ लाख ६५ हजार ८ सय ११ वटा आवेदन प्राप्त भएको थियो, जसमा २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरको माग थियो।
एनआइएमबी एस क्यापिटलका अनुसार १० हजार १२६ आवेदन रद्द भएका थिए र गोलप्रथाबाट १९ लाख ५५ हजार ६८५ आवेदकलाई शेयर बाँडफाँड गरिएको हो।
कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। यसमा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ६७ हजार ५०० कित्ता कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएका थिए।
शेष १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
आईपीओको नतिजा क्रेष्ट माइक्रो लाइफको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइटमा हेर्न सकिन्छ। साथै, मेरो शेयर एप मार्फत पनि नतिजा चेक गर्न सकिन्छ।
यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।
प्रतिक्रिया