Logo

कर्पोरेट

एनसिएग्रो टेक इण्डस्ट्रिज लिमिटेडले १८ करोडको आईपीओ जारी गर्ने



काठमाण्डौं । च्याउ उत्पादक कम्पनी एनसिएग्रो टेक इण्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको आईपीओ (सार्वजनिक प्रस्ताव) जारी गर्ने घोषणा गरेको छ। कम्पनीले प्रति शेयर एक सय रुपैयाँको अंकित मूल्यमा १८ लाख कित्ता साधारण शेयर सार्वजनिक गर्ने योजना बनाएको हो।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओको निष्कासन र बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। उक्त सम्बन्धमा आइतबार एनसिएग्रो टेक इण्डस्ट्रिज लिमिटेडका सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

एनसिएग्रो टेक इण्डस्ट्रिज लिमिटेड २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको थियो। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा रहेको छ भने यसको उत्पादन केन्द्र नवलपरासी जिल्लाको गैडाकोट–१४ मा स्थित छ।

कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियान अन्तर्गत कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले अत्याधुनिक प्रविधिबाट ताजा च्याउ उत्पादन गर्दै आत्मनिर्भरता हासिल गर्ने काममा लागिरहेको छ। यसले स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर च्याउ उत्पादन गर्ने र उत्पादित च्याउ विदेशमा निर्यात गर्ने योजनाका साथसाथै औषधीय महत्व बोकेको च्याउजस्तै यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला जस्ता च्याउहरूको उत्पादन गर्दै आएको छ।

च्याउको उत्पादन र प्रशोधनमा कम्पनीले ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम लगायतका उत्पादनहरू बनाउँदै आएको छ। साथै, गोब्रे च्याउ उत्पादनका लागि आवश्यक कम्पोष्ट उत्पादन पनि गर्दै आएको छ जसलाई नेपालभरका कृषकहरूलाई बिक्री वितरण गरिन्छ।

यस कम्पनीले च्याउ उत्पादनका लागि नयाँ प्रविधि र व्यावसायिक तालिम पनि प्रदान गर्दै आएको छ। च्याउका बिउ तथा व्यवसायिक तालिमका कार्यक्रम सञ्चालन गरेर कृषि क्षेत्रमा नयाँ परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले उल्लेख गरेको छ।

अर्कोतर्फ, कम्पनीले बाँसका विभिन्न उत्पादनहरू जस्तै टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का र मुडाका सिन्का पनि उत्पादन गर्दै आत्मनिर्भरता हासिल गर्ने कार्यमा लागिरहेको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ३ : ०४ बजे