Logo

समाचार

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेशन्स



काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारको रूपमा सहभागिता जनाउने भएको छ।

आगामी २०८२ सालको बैशाख महिनाको ७ गते (अप्रिल २०२५) काठमाण्डौमा आयोजना हुने सम्मेलनको तयारीसँगै आज वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष विशाल गैरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (एनसिसी), र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार निकायहरू सहभागी हुनेछन्।

सम्मेलनका प्रमुख आयोजक, नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी र विदेशी अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, तथा नवप्रवर्तक युवा उद्यमीहरूको सघन सहभागिता रहने जानकारी दिएका छन्।

वल्र्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप र इनोभेशनमा सरकारले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्दै यस किसिमका सम्मेलनहरूले सरकारको नीतिनिर्माणमा सहजीकरण र निजी क्षेत्र मैत्री वातावरण निर्माणमा सहयोग पुग्ने बताएका छन्।

सम्मेलनमा विभिन्न आर्थिक, बैंकिङ, उद्योग र व्यवसायिक क्षेत्रका तात्कालिक चुनौतीहरू र अवसरहरूमा छलफल गरिनेछ। आयोजकहरूको भनाइमा, सम्मेलनको परिणामस्वरूप प्राप्त हुने सुझावहरूलाई तीनै तहका सरकारलाई समर्पित गरी कार्यान्वयनको लागि हस्तान्तरण गरिनेछ।

समिटले विभिन्न क्षेत्रका विशेषज्ञ, उद्योगी, व्यवसायी, महिला उद्यमी र नवप्रवर्तकलाई एकै मञ्चमा ल्याएर, बहुपरकारी सुझाव र समाधान प्रस्ताव गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ११ : ५७ बजे