दोलखा। तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका करिब चार सय जना नेपाली श्रमिकहरूले आज पनि धर्ना कार्यक्रम जारी राखेका छन्।
श्रमिकहरूको आन्दोलन तब सुरु भयो जब आयोजनाअन्तर्गत अडिट–१ र २ का ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नगरी ठेकेदार कम्पनीले श्रमिकका मागहरू अनदेखा गरेको थियो। आन्दोलनका कारण दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको सो आयोजना अडिट–१ र २ मा कामकाज ठप्प भएको छ।
धर्ना कार्यक्रमको संयोजक जीवन मगरका अनुसार, श्रमिकहरूले आफूहरूको जायज मागहरू पूरा नगरेसम्म आयोजनाका सबै कार्य ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरूले हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना गर्दै ठेकेदार कम्पनीलाई दबाब दिने काम गरिरहेका छन्।
श्रमिकहरूले नेपालका श्रम ऐन, २०७४ को प्रावधानअनुसार रोजगार सम्झौतापत्र, सेवासुविधा, दुर्घटना बीमा, चिकित्सा बीमा, वार्षिक तलव वृद्धि, ओभरटाइम सुविधा लगायतका १३ बुँदे माग राखेका थिए। यद्यपि, सिनो हाइड्रो कम्पनीले अहिलेसम्म यी मागहरू सम्बोधन नगरेको श्रमिकहरूको भनाइ छ।
फागुन १६ गते श्रमिक र कम्पनी बीच एक सहमति भएको थियो, तर कम्पनीले उक्त सहमति कार्यान्वयन नगरेपछि कामकाज ठप्प पार्न बाध्य भएका छन्। यसअघि, स्थानीय सिंगटी बजारदेखि गोंगरसम्म र्याली आयोजना गरिएको थियो।
हाल तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा करीब पाँच सय जना श्रमिक कार्यरत रहेका छन्।
प्रतिक्रिया