Logo

प्रदेश

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन



जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयवासीले बाटो अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन् ।

आशुको हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।

यता आशुका परिवारजनले आशुको हत्यामा अन्य युवकहरुको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ०८ बजे