Logo

राजनीति

योजना खरिद–बिक्रीमा कांग्रेस संलग्न नरहेको नेता यादवको स्पष्टोक्ति


२५ फाल्गुन २०८१, आइतबार  

0
Shares

जनकपुर । सत्तारुढ नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले योजना खरिद–बिक्री प्रकरणमा कांग्रेस कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरेका छन्।

आइतबार जारी विज्ञप्तिमा नेता यादवले योजना खरिद–बिक्री जस्ता विकृत गतिविधिहरूमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै, यस्तो गतिविधिको साक्षी भएर बसिरहन कांग्रेस बाध्य नहुने उल्लेख गरेका छन्। उनले आवश्यक छलफल गरी उचित निर्णय लिने कांग्रेसको प्रतिबद्धता दोहो¥याएका छन्।

नेता यादवले प्रदेश सरकार अन्तर्गत विशेष गरी भौतिक पूर्वाधार मन्त्रालयसहित विभिन्न विकासे मन्त्रालयहरूको नाम जोडेर योजना खरिद–बिक्री भइरहेको भन्दै सञ्चारमाध्यमहरूमा निरन्तर आएका समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारमा के कति सत्यता छ भन्ने विषयमा जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रित भएको छ,’ उनले भनेका छन्, ‘यदि ती समाचारहरू सत्य छन् भने, नेपाली कांग्रेस यस्तो अनियमिततामा कुनै पनि रूपमा संलग्न नरहेको प्रष्ट पार्न चाहन्छु।’

सरकारी बजेटको दुरुपयोग भइरहेको खण्डमा गम्भीर भएर चासो लिनुपर्ने बताउँदै, सत्ता गठबन्धन दलको रूपमा कांग्रेसले तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सरकारलाई सचेत गराएको यादवले उल्लेख गरेका छन्।

चालु आर्थिक वर्षको बजेटमा खुला प्रतिस्पर्धा (टेन्डर)मार्फत मात्र विकास निर्माणका काम गर्ने उल्लेख गरिएको थियो। तर, पछि ५० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने गरी बजेट संशोधन गरिएको थियो।

तर, हाल भौतिक पूर्वाधार कार्यालयमार्फत मन्त्रीहरूले कमिशन लिएर कार्यकर्ता तथा ठेकेदारलाई योजनाको चिठ्ठी बाँड्ने गरेको आरोप छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ५० बजे