काठमाडौं । काठमाडौंको जोरपाटीस्थित लिटिल वड सेकेन्डरी स्कूलले शनिबार २८औं वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित यस विशेष कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज कार्कीको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष नवराज भट्ट र वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। यसका साथै राष्ट्रिय संस्थागत विद्यालय संघका अध्यक्ष सौर्यनाथ आचार्य, निसान महासचिव नवराज सापकोटा, गोकर्णेश्वर नगरपालिकाका सदस्य सुमन लामा, र विद्यालयका विभिन्न अभिभावकहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमको दौरान विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नेपालको सांस्कृतिक विविधता झल्काउँदै ३८ वटा प्रस्तुतिहरू दिएका थिए। यी प्रस्तुतिहरूले मार्मिक सन्देश र मनोरञ्जनात्मक तत्वहरू प्रस्तुत गरे जसले अभिभावकहरूको मन छुने गरेका थिए। कतिपय विद्यार्थीहरूको भावुक प्रस्तुतिहरूले अभिभावकहरूको आँसु झारिदिएको भने, केही प्रस्तुतिहरूले उपस्थितजनलाई हाँसो र रमाइलो ल्याएका थिए।
विद्यालयका शिक्षकरशिक्षिकाले पनि तीन वटा औपचारिक प्रस्तुति र विशेष नृत्य प्रस्तुत गरे। दीप प्रज्ज्वलन र पियानो, झ्याली, मादल र क्याजियमको धुनसँग कार्यक्रमको शुरुआत भएको थियो। यस अवसरमा विद्यालयका निर्देशक नारद खड्काले स्वागत मन्तव्य प्रस्तुत गरे र प्रिन्सिपल अरुण कुमार कँडेलले धन्यवाद व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथिहरूले विद्यालयको शिक्षण र सांस्कृतिक योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य दिएका थिए। साथै, विद्यालयका ४९ जना शिक्षकरशिक्षिकालाई खादा र मालाले सम्मानित गरिएको थियो।
८५० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको यस कार्यक्रमलाई लाइफ ओके टेलिभिजन र विद्यालयको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
प्रतिक्रिया