काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सिनेमाको शनिबार सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्षीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ ।
मधेशको सेटअपमा खिचिएको गीतलाई सिनेमाका कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियामा सिनेमाका प्राय सवैजसो कलाकारलाई स्थान दिइएको छ ।
यसैबीच, सिनेमाको छायांकन स्थल जनकपुरमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिएको छ । जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा सिनेमाको रेड कार्पेट प्रिमियर गरिएको थियो । जनकपुरका मेयरदेखि प्रहरीका उच्च पदस्थ पदाधिकारीले प्रिमियर शोमा सिनेमा हेरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र सिनेमामा आबद्ध जनकपुरका कलाकारले सिनेमा हेरेका थिए । सिनेमाका निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए ।
सिनेमा हेरिसकेपछि अधिकांश पाहुनाले प्रमुख पात्र ‘पूजा सर’को तारिफ गरेका थिए । महिलाहरु पूजा, सर जसरी नै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिलाहरु कमजोर छैनन् । अन्तर्राष्ट्रिय महिला दिवसका दिन गरिएको प्रिमियर शोमा सिनेमा हरेका दर्शकले प्रतिक्रिया दिएका थिए ।
सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।
प्रतिक्रिया