काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेलसँग सहकार्य गर्दै डिजिटल पहुँचलाई थप विस्तार गरेको छ। यस सहकार्य अन्तर्गत, एन्सेलका सिम भएका प्रयोगकर्ताहरू अब ब्यालेन्स सकिए पनि र डाटा नभए पनि खल्ती एप प्रयोग गर्न सक्नेछन्।
यस सुविधाले विशेष गरी ग्रामीण भेगका व्यक्तिहरूलाई इन्टरनेट पहुँच बिना पनि आफ्नो एन्सेलको रिचार्ज गर्न र डाटा तथा भ्वाइस प्याकेजहरू खरिद गर्न सघाउनेछ। यसका साथै, इमर्जेन्सी परेमा, यस सुविधा प्रयोगकर्ताहरूका लागि अत्यन्तै उपयोगी साबित हुन सक्छ।
खल्ती एपको माध्यमबाट, प्रयोगकर्ताहरू इन्टरनेट पहुँच प्राप्त गरी बिजुली, खानेपानी, टिभी लगायतका घरेलु सेवा सुविधाहरूको भुक्तानी, रेमिटेन्स, स्क्यान र पे, मुभी टिकट, इभेन्ट बुकिङ, र डिजिटल सेवाहरूको उपयोग गर्न सक्नेछन्।
यसका साथै, एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार विशेष फायर सेल्सको आयोजना गरिएको छ। खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताहरूलाई थप डाटा, भ्वाइस, एयर बड, फिल्म टिकट र जेमसन पाटन फेस्टको भिआइपी टिकट जित्ने मौका मिल्नेछ।
खल्तीका युजर हेड, रौनक मुखियाले भने, “एन्सेलसँगको यस सहकार्यले खल्तीको डिजिटल पहुँचलाई नेपालका हरेक कोनेसम्म पुर्याउनेछ। हामी सबैलाई यस सुविधाको अधिकतम लाभ उठाउन आग्रह गर्दछौँ।”
खल्तीले आफ्नो नवौँ वर्षमा देशभरका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्टहरू, ६० हजार मर्चेन्ट व्यवसायीहरू, ५५ बैंक र वित्तीय संस्थाहरूको साथमा आफ्नो डिजिटल सेवाहरू विस्तार गरेको छ।
प्रतिक्रिया