Logo

समाचार

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद: डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यालय घेराउ


२० फाल्गुन २०८१, मंगलबार  

69
Shares

काठमाडौं – नेपाल बार एसोसिएसनको आगामी केन्द्रीय कार्यसमिति निर्वाचनको मतदाता नामावलीमाथि विवाद उत्पन्न भएको छ। कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का सदस्य कानुन व्यवसायीहरूले नेपाल बार निर्वाचन समितिको कार्यालय घेराउ गरेका छन्। उनीहरूले निर्वाचन समितिको निर्णयको विरोध गर्दै कार्यालय घेराएका हुन्।

उच्च अदालत बार एसोसिएसनले काठमाडौं जिल्ला अदालत बारका ७११ मतदाताको नाम हटाउनुपर्ने माग गर्दै उजुरी दर्ता गरेपछि डीएलएका कानुन व्यवसायीहरू आन्दोलित भएका छन्। मंगलबार (फागुन २०, २००) नेपाल बार निर्वाचन समितिको कार्यालय घेराउ गरिएको हो।

नेपाल बारको प्रारम्भिक मतदाता नामावलीमा ११,७७२ जनाको नाम समावेश गरिएको थियो, र सोमबारसम्म दाबी र विरोधका लागि समय तोकिएको थियो। उच्च अदालत बारको उजुरीपछि काठमाडौं बार एसोसिएसनले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो।

डीएलए अध्यक्ष सुशीलराज पौडेलका अनुसार, नेपाल बारको निर्वाचन समितिले काठमाडौं जिल्ला बारको मात्र मतदाता नामावली छानबिन गरेको र अन्य सबै मतदाताको नामावलीमा सुधार नगरेको कारण विरोध प्रकट गरिएको हो। पौडेलले भने, “नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेको मतदाता नामावली एकतर्फी रूपमा निर्वाचन समितिले मात्र काठमाडौं जिल्ला बारको हकमा हटाउने तयारी गरेको छ।”

नेपाल बारको विधानको धारा २५ अनुसार, मतदाता नामावली कायम गर्ने प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने डीएलएको माग छ। चुनावी प्रक्रिया पुन: समीक्षा गर्न र निर्वाचन समितिको निर्णयको विरोध गर्दै उनीहरूले उजुरी दिएका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ०४ बजे