Logo

Breaking News 1

जनकपुरधामस्थित शहीद गंगालाल हृदय केन्द्रका कर्मचारी आन्दोलित


१५ फाल्गुन २०८१, बिहिबार  

46
Shares

जनकपुर । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुरधामका चिकित्सक र कर्मचारीहरू सरकारको समायोजन योजनाविरुद्ध आन्दोलित भएका छन् । कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न तथा अन्यायपूर्ण निर्णयको विरोधमा आवाज उठाएका हुन् । उनीहरुले विरोधस्वरुप बिहीबार कालो पट्टी हातमा बाँधेर काम गरेका छन् ।

सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्ने योजना अघि सारेपछि कर्मचारीहरू असन्तुष्ट बनेका छन् । उनीहरूका अनुसार उक्त प्रक्रिया निष्पक्ष छैन र कुनै परामर्शबिना जबरजस्ती लागू गर्न खोजिएको छ । योजना केवल उनीहरूकै अधिकार खोस्न मात्र नभई जनकपुरधामका नागरिकहरूको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको मुद्दा पनि रहेको कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरूका अनुसार समायोजन प्रक्रिया पारदर्शी छैन र यसले उनीहरूको हक र अधिकारमाथि अतिक्रमण गरेको छ । उनीहरू भन्छन्, ‘समायोजनको निर्णयमा हाम्रो कुनै संलग्नता छैन । यो हाम्रो सेवासँग मात्र सीमित छैन । नकपुरधामवासीका लागि समेत ठूलो असर पार्ने विषय हो ।’

सरकारले पारदर्शी तरिकाले यो प्रक्रिया अघि नबढाए सेवाग्राहीहरूलाई समेत असुविधा हुने निश्चित रहेको कर्मचारीहरूको तर्क छ । सेवाका गुणस्तरमा गिरावट आउन सक्ने र बिरामीहरूले समयमा उपचार नपाउने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधामका कर्मचारीहरूले आफ्ना जायज मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । यदि मागहरू पूरा नभए थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

उनीहरूले विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । आन्दोलनका कारण सेवाग्राहीलाई असुविधा पुगेको स्वीकार्दै उनीहरूले क्षमायाचनासमेत व्यक्त गरेका छन् । कर्मचारीहरूले भनेका छन्, ‘हाम्रो मागहरू पूरा नहुन्जेलसम्म हामी शान्तिपूर्ण विरोध जारी राख्नेछौं । यदि सरकार हाम्रो जायज मागप्रति गम्भीर भएन भने आन्दोलनका थप कार्यक्रमहरू अघि बढ्नेछन् ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १० : ५८ बजे