Logo

धर्म / संस्कृति

आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको दर्शन गर्नेको घुइँचो


१४ फाल्गुन २०८१, बुधबार  

69
Shares

रामेछाप । आदिर्लिङ्ग मध्ये एक मानिने सिन्धुलीको सुनकोसी र रोसीको किनारमा रहेको कुशेश्वर महादेव मन्दिरमा शिवरात्रिको अवसरमा विशेष मेला लागेको छ । 

महादेव मन्दिरको दर्शका लागि स्थानीय बाहेक, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका विभिन्न जिल्लाका साथै भारतबाट समेत दर्शनार्थीहरु आएका स्थानीय राज मैनालीले जानकारी दिए ।

मन्दिरमा दर्शन गर्न आउनेको लागि नेपाल स्काउट लगायतका स्वयमसेवकहरुले लाइन व्यवस्थापन गरिरहेका छन् । ज्येष्ठ नागरिक र असक्तहरूलाई लाइन नबसी दर्शनको व्यवस्था मिलाइएको रामेछापको सुनापति गाउँपालिका स्थानीय स्काउट प्रमुख आयुक्त राजकुमार मैनालीले बताए ।

आदिर्लिङ्ग कुशेश्वर महादेवको पूजा दर्शन र हवन गरेमा तथा पितृको श्राद्ध गरे पितृ उद्धार र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । सुवर्ण कौशिकीको स्नानपछि कुशेश्वरको दर्शन गरेर कुष्ठरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शन गर्न गएको वर्णन धर्मशास्त्रमा छ ।

भक्तपुर लगायतका काठमाडौं उपत्यकाका नेवार समुदायले कुशेश्वर महादेवलाई कूल देवताको रूपमा पुज्ने गर्दछन् । त्यसैले कुशेश्वर मन्दिरमा दर्शन गर्न तथा  सतविज छर्न काठमाडौं उपत्यका लगायतका क्षेत्रका मानिसहरू आउने गर्दछन् ।

नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरको भक्तिभावले राज्य पाएको कहावत छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको खेत तथा फलफूल बारीको व्यवस्था गरिदिएको अभिलेखमा उल्लेख छ ।

राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्र पत्रसमेत गरी दिई सो ताम्र पत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बलभद्र गिरीलाई जिम्मा लगाइदिएका थिए । भूमिसुधारको समयमा फलफूल बारी बलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे ।

कुशेश्वर मन्दिरको नाममा रहेको धेरै खेत रोसी खोलाले बगाइदियो । यस वर्ष रोसी खोलाले मन्दिर वरिपरिको क्षेत्रमा ठुलो क्षति पु¥याएको छ ।

भक्तपुरका मल्ल राजाले पनि ढुङ्गाको खम्बामाथि ढुङ्गाकै बसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए । तिनै राजाले मन्दिरको वरिपरि गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए ।

विक्रम संवत् १८३६ मा शाह वंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले श्री कुशेश्वर नाथमा दुम्जेश्वरी अङ्कित चाँदीको बेलपत्र र धतुरा पुण्यको माला चढाएको शिलालेखमा उल्लेख छ । श्री ५ पृथ्वीवीरबिक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले विसं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठुलो चँदुवा तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइदिएको अभिलेख छ ।

कुशेश्वर मन्दिर परिसरमा अहिले वेद विद्याश्रम सञ्चालन गरिएको छ । सो पाठशालामा  ८ कक्षासम्म औपचारिक कक्षा सञ्चालन भइरहेको छ । मन्दिरमा नित्य पूजाका साथै विशेष पूजाहरू समेत हुने गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  २ : २१ बजे