काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो ।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।
करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जाने छ ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।
यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन् । महिलाप्रधान चलचित्र रहेको बताइएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ ।
निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।
प्रतिक्रिया