काठमाडौँ । नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पत्रकार सम्मेलनमार्फत भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउनेसङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए ।
महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उनले बताए । प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन् । पुरुषतर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछन् ।
नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले बताए।
प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ ।
प्रतिक्रिया