Logo

धर्म / संस्कृति

पाथीभरा क्षेत्र अशान्त र रणमैदान बनेको राजेन्द्र लिङ्देनको दाबी


११ फाल्गुन २०८१, आइतबार  

46
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन् । 

उनले भने, ‘आज  पूर्व पाथीभरा अर्थात मुकुमलुङ क्षेत्र अशान्त भइरहेको  छ । एक प्रकारले रण मैदानमा परिणत भइरहेको छ ।  प्रधानमन्त्रीले , गृहमन्त्रीले त्यो  भिडियो  हेर्नु  भएको  छ कि छैन ? त्यो  समाचार  सुन्नु भएको  छ की  छैन ? राजनीतिक दलहरुले पनि त्यो  विषय किन अनदेखा गरेको । मानवअधिकार आयोगले कि अनदेखा गरेको यो मेरो  प्रश्न हो । आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भरहेको छ, किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन, मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र ? सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ । अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केवलकार बनाउन दिने निर्णय गरियो । तर, जनताले विरोध गरिरहेको अवस्था छ । सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ । त्यो काम अविलम्ब गर्नुपर्छ ।’

उनले गणतन्त्र लुटतन्त्रमा परीणत भयो भने आफूहरुले निरन्तर रुपमा विरोध गरिरहने उदघोष गरे  ।

उनले भने,‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो जुन यहाँ कुरा राखियो । गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ११ बजे